पुस २२
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) टिकेन्द्रराज भट्टले छोरा आयुष भट्टलाई मेडिकल अधिकृतको जागिर खुवाउन ३ महिनादेखि चलखेल गरेको खुलासा भएको छ ।
छोरा आयुषलाई शुक्लाफाँटाको पिपलाडी स्वास्थ्य चौकीमा मेडिकल अधिकृतको जागिर खुवाउन कार्यरत रहेका मेडिकल अधिकृत देवेन्द्रसिंह नेगीलाई हटाइएको खुलासा भएको छ ।
हाकिम भट्टले २९ सेप्टेम्बर २०२३ अर्थात् २०८० असोज १२ गते सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा आयुषलाई बधाई दिँदै लेखेका छन्, ‘नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गरेकोमा छोरा आयुषलाई धेरैधेरै बधाई तथा शुभ आशिष ।’ मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेपछि मेडिकल अधिकृतको जागिर खाने योग्यता पुग्छ ।
हाकिमका छोरा आयुषले लाइसेन्स परीक्षा पास गर्दा पिपलाडी स्वास्थ्य चौकीमा कार्यरत थिए भीमदत्त नगरपालिका–६ का देवेन्द्रसिंह नेगी ।
तर, छोरा आयुषले जागिर खान मिल्ने लाइसेन्स पास गरेपछि हाकिम भट्टले चलखेल सुरु गरे र नेगीलाई जागिरबाट हट्न बाध्य पारे ।
शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा आधारभूत अस्पताल सञ्चालनका लागि २०८० वैशाख १३ गते मेडिकल अधिकृत पदमा करारमा विज्ञापन आह्वान गरेको थियो । जेठ २ गते भएको मौखिक (अन्तर्वार्ता) परीक्षाबाट नेगी नियुक्त भएका थिए ।
काठमाडौंको नर्भिक अस्पतालमा ९ वर्ष काम गरेका नेगीले आफ्नै गाउँठाउँमा काम गर्ने इच्छा गरेर पिपलाडीमा मेडिकल अधिकृतको जिम्मेवारीमा रहेर ५ महिना मात्रै काम गर्न पाए ।
गत आर्थिक वर्ष २०७९/०८० जेठमा नियुक्त भए पनि चालू आर्थिक वर्ष २०८०/०८१ असोज मसान्तसम्म मात्रै काम गर्न दिइएको नेगीले बताए । असोजमा हाकिमका छोरा आयुषले लाइसेन्स परीक्षा पास गरेपछि नेगीलाई हटाइयो ।
आफूलाई हटाउन हाकिमले असोजदेखि दुःख दिन र अप्ठ्यारो गर्न सुरु गरेको नेगीले बताए । ‘सुरुमा खाना पकाउने भान्छे समेत दिइएको थियो,’ उनले भने, ‘पछि भान्छे कटौती गरियो ।’ हाकिमले आफूलाई विना कारण कुर्सीमा नबस्न ठाडो आदेश दिएपछि आफूले काम छाड्न बाध्य भएको उनले गुनासो गरे ।
‘म आफ्नो काम गर्दै थिएँ । एक्कासि हाकिमले फोन गरेर तपाईं जागिर छोड्नुस् भन्नुभयो । त्यसपछि मैले पनि मरिहत्ते गरिनँ, झगडा गर्ने कुरा पनि भएन, अनि म पिपलाडी स्वास्थ्य चौकीबाट बाहिरिन बाध्य भए,’ उनले भने ।
सुरुमा असार मसान्तसम्म नियुक्ति पाए पनि त्यसपछि नियुक्ति विनै काम गरेको उनले बताए । ‘सुरुमा नियुक्ति दिइयो । असार मसान्तपछि महिना सक्किने बित्तिकै मलाई काम गर्ने समय तोकिन्थ्यो,’ उनले भने, ‘अन्यको करार अवधि थप भए पनि मेरो थप गरिएन, हाकिमले बजेट अभाव छ भन्नुहुन्थ्यो ।’
आफूलाई दशैंको पेश्की समेत नदिइएको उनले गुनासो गरे । त्यहाँ कार्यरत हुँदा आफूलाई निच व्यवहार गरिएको उनले दुःखेसो समेत पोखे ।
प्रमुख प्रशासकीय अधिकृत भट्टका छोरा आयुषले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि नेगीलाई विना कारण जागिरबाट निकालिएको हो ।
नेगी महाकाली प्रादेशिक अस्पताल,महेन्द्रनगर लगायतका अस्पताल तथा क्लिनिकहरुमा समेत काम गरिसकेका व्यक्ति हुन् ।
नेगीलाई असोजमा जागिरबाट निकालेको ३ महिनापछि पुस १ गते पुनः विज्ञापन आह्वान गरियो । विज्ञापनमा २ जनाले आवेदन दिए पनि अनुभवीलाई नियुक्त नगरी भर्खर लाइसेन्स परीक्षा पास गरेका हाकिमका छोरा आयुषलाई नियुक्त गरिएको छ ।
नेगी स्वास्थ्य चौकीमा कार्यरत हुँदा रोग पत्ता लगाउने विभिन्न उपकरणहरू एक्स–रे, ईसीजी, अल्ट्रासाउण्ड लगायतका मशिन सञ्चालनमा थिए । तर उनलाई बलजफ्ती हटाएपछि उपकरण प्रयोगविहीन भएका छन् ।
अनुभवी डाक्टरलाई हटाएर शुक्लाफाँटाका हाकिमले यतिबेला भर्खर लाइसेन्स पास गरेका छोरालाई नियुक्ति दिएका छन् ।
यसरी छोरालाई जागिर खुवाउने चक्करमा शुक्लाफाँटा नगरवासीको स्वास्थ्य सेवामाथि खेलबाड भएको देखिएको छ ।
