काठमाडौँ, फागुन २९ गते । वायु प्रदूषण नेपालमा गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदूषित हावाकै कारण नेपालमा हरेक वर्ष करिब ४२ हजार मानिसको ज्यान जाने गरेको तथ्य सार्वजनिक भएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तीमध्ये करिब २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकामा हुने गरेको छ। प्रदूषित हावाले श्वासप्रश्वाससम्बन्धी रोग, दम, मुटु तथा रक्तनलीका रोग, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या बढाउने गरेको छ।
विशेषगरी बालबालिकामा प्रदूषणको असर बढी देखिने विज्ञहरू बताउँछन्। बालबालिकामा श्वासप्रश्वास समस्या, मुटुसम्बन्धी रोगको जोखिम, शिशु बिरामीदर वृद्धि, मस्तिष्क विकासमा ढिलाइ तथा असामान्य व्यवहार जस्ता समस्या देखिने गरेका छन्। साथै कुपोषण र बाल्यकालमै क्यान्सरको जोखिम पनि बढ्न सक्ने बताइएको छ।
प्रदूषणको असर गर्भवती महिलामा पनि देखिने गरेको छ। कम तौलका शिशु जन्मिनु, रक्तअल्पता, बाँझोपन, गर्भकालीन मधुमेह तथा मानसिक स्वास्थ्य समस्या देखिने सम्भावना बढ्ने चिकित्सकहरूले बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार स्वस्थ हावामा सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन। तर नेपालमा यो मात्रा सो मापदण्डभन्दा करिब आठ गुणासम्म बढी रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार नेपालमा वायु गुणस्तर सूचक (AQI) १८५ सम्म पुगेको जानकारी दिँदै प्रवक्ता बुढाथोकीले यस्तो अवस्था स्वास्थ्यका लागि अस्वस्थकर मानिने बताउनुभयो। सामान्यतया ०–५० सम्मको सूचकलाई स्वस्थ, ५१–१०० सचेत, १०१–१५० जोखिम समूहका लागि हानिकारक र १५१ भन्दा माथि अस्वस्थकर मानिन्छ।
विज्ञहरूका अनुसार यदि वायु प्रदूषणलाई डब्लुएचओको मापदण्डभित्र ल्याउन सकिएमा नेपाली नागरिकको औसत आयु हरेक वर्ष करिब ३.३ वर्षले बढ्न सक्ने अनुमान गरिएको छ।
विश्वभर पनि वायु प्रदूषणका कारण बर्सेनि करिब ७९ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ, जसमा ९० प्रतिशतभन्दा बढी कम तथा मध्यम आय भएका देशका नागरिक पर्ने गरेका छन्।
नेपालमा वायु प्रदूषण बढ्नुका मुख्य कारण सवारीसाधनबाट निस्कने धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउने चलन, सडक तथा निर्माण कार्यको धुलो, वन डढेलो तथा किटनाशक र विषादीको अत्यधिक प्रयोगलाई मानिएको छ।
