माघ १
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा अर्थतन्त्रमा राम्रो सुधार भएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारोन्मुख रहेकाले उद्योगी व्यवसायी हरूलाई उत्साही भएर काम गर्न आग्रह समेत गरेका छन् । ‘यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ । बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ । यो हाम्रा लागि खुसीको कुरा हो । त्यसैले उत्साही भएर काम गरौं’, प्रधानमन्त्री प्रचण्डले भने । आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘तपाईंहरूलाई थाहै छ, मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने÷नदिनेमा निकै ठूलो संशय थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।
