नेपालमा अपांगता भएकाहरूको जनसंख्या साढे ६ लाख

९ चैत धनगढी
नेपालमा अपांगता भएकाहरूको जनसंख्या साढे ६ लाख रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालय र राष्ट्रिय अपांग महासंघ मिलेर नेपालमा अपांगताको पहिलो पटक खण्डीकृत तथ्यांक प्रकाशन गरेका छन्।

यसबाट नेपालमा अपांगता भएका व्यक्तिहरु कहाँ छन्, कति छन्? उनीहरुको बसोबासको स्थिति, पारिवारिक र व्यक्तिगत स्थिति के छन् भन्ने कुराको एउटा झलक आएको छ। तथापि अपांगताको पक्षमा वकालत गरिरहेकाहरूले यसलाई पनि अपुरो तथ्यांक नै भनेका छन्।

यसअघिका जनगणनाले सार्वजनिक गरेको तथ्यांकभन्दा विस्तृत रूपमा प्रकाशन गरिएकोले यसबाट अपांगताको अध्ययन, अनुसन्धानका नयाँ विधाहरूलाई बाटो खुलाएको छ। यो तथ्यांकले संघीय, प्रदेश र स्थानीय सरकारलाई अपांगतामैत्री कार्यक्रम बनाउन समेत सहयोगी हुने तथ्यांक कार्यालयको भनाइ छ।

कार्यालयको जनसंख्या शाखा प्रमुख ढुण्डिराज लामिछानेका अनुसार अपांगताको विषयमा जनगणना २०७८ ले संकलन गरेका सुक्ष्म तथ्यांकहरूलाई विष्लेषण गरेर प्रतिवेदनको रुपमा सार्वजनिक गरिएको छ।

‘यो प्रतिवेदनले नेपालमा अपांगताको अवस्था सम्पूर्ण तथ्य सार्वजनिक गरेको छ,’ लामिछाने भन्छन् ‘हाम्रो काम तथ्यांक सार्वजनिक गर्ने हो तर यसलाई उपयोग गर्ने काम सरकारका अरू निकायको हो। मलाई लाग्छ, तीनै तहका सरकार, तथा विभिन्न सामाजिक संस्थाहरुले अपांगताको तथ्यांक पाइएन भन्ने माग एक हदसम्म पूरा भएको छ।’

अपांगता सम्बन्धी प्रतिवेदनले कुल जनसंख्याको २.२ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपांगता भएको देखाएको छ।

त्यो भनेको ६ लाख ४७ हजार ७ सय ४४ हो। तथ्यांकअनुसार अपांगता भएको व्यक्तिको सबैभन्दा बढी बसोबास कर्णाली प्रदेशमा छ। यहाँ कुल अपांगता भएका परिवारको १२.१ प्रतिशत परिवार बसेका छन्।

यसैगरी सुदुरपश्चिम प्रदेशमा कुल परिवारमध्ये १०.५ प्रतिशत परिवारमा अपांगता भएका व्यक्ति पाइएको छ। गण्डकी र लुम्बिनीमा क्रमश ९.४ र ९.१ प्रतिशत परिवारमा अपांगता भएका व्यक्ति छन्। कोशीमा ८.६ र मधेस तथा बागमतीमा क्रमश ६.९ र ६.८ प्रतिशत अपांगता भएका परिवारहरू रहेका छन्।

देशको कुल जनसंख्यामा २.२ प्रतिशत अपांगता भएका व्यक्ति भए पनि यो संख्या कर्णालीमा ठूलो छ। कर्णालीमा कुल जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ मा ३.३ प्रतिशत अर्थात ५२ हजार ६ सय ४ जना व्यक्ति व्यक्तिहरु अपांगता भएका छन्।

दोस्रोमा गण्डकी प्रदेशको कुल जनसंख्याको २.९ प्रतिशत व्यक्तिहरू अपांगता भएका छन्। सुदुरपश्चिममा कुल जनसंख्याको २.६ प्रतिशत अपांगता भएकाहरू छन्।

कोशी र लुम्बिनीमा कुल जनसंख्याको २.४ प्रतिशत अपांगता भएकाहरू छन्। मधेस प्रदेशमा सबैभन्दा कम अपांगता भएका व्यक्तिहरू देख्निछ। जहाँ कुल जनसंख्याको १.५ प्रतिशत मानिसहरू अपांगता भएका छन् ।

उमेर बढ्दै जाँदा जनसंख्या घट्दै, तर अपांगता बढ्दै

राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार जनसंख्याको उमेर बढ्दै जाँदा जनसंख्या घट्दै गएको छ। तर अपांगताको जनसंख्या भने उमेर बढ्दै गएपछि यसको आकार पनि बढ्दै गएको छ। अपांगता भएका व्यक्ति मध्ये सबैभन्दा बढी ७५ वर्षभन्दा माथीका रहेका छन्।

यो उमेर समूहको जनसंख्यामा ९.६ प्रतिशत अपांगता भएकाहरूको छ। सबैभन्दा कम अपांगता भएको जनसंख्या ० देखि ४ वर्ष उमेर समूहको छ। यो उमेर समूहका १.१ प्रतिशत जनसंख्या अपांगता भएकाहरूको छ।

५० देखि ५४ वर्षको जनसंख्यामा ३.६ प्रतिशत,५५ देखि ५९ वर्ष उमेर समूहमा ४.२ प्रतिशत ६० देखि ६४ वर्षमा ५.३ प्रतिशत जनसंख्यामा अपांगता रहेको पाइएको छ। यस्तै ६५ देखि ६९ वर्षमा ६.२ प्रतिशत, ७० देखि ७४ वर्षमा ७.५ प्रतिशत अपांगता भएको जनसंख्या रहेको छ।

राष्ट्रिय अपांग महासंघका प्रवक्ता रमेश पोखरेलले कर्णालीको विकट भूगोल र त्यहाँको गरिबी अपांगता बढाउने मुख्य कारण रहेको बताए। उनकाअनुसार नेपालको भूगोल नै अफ्ठेरो भएको र नेपालीहरू कृषिकर्ममा बढी भरपर्नु परेकाले पनि अपांगता बढेको बताउँछन्।

‘पहाडी भूगोलमा कृषि कर्म गर्दा वा, घाँस काट्दा वा अरू जोखिमपूर्ण शारीरिक काम गर्नुपर्दा भीरबाट लडेर वा अन्य घातक चोटपटक लागेर मानिसहरूमा अपांगता हुने गरेको छ,’ पोखरेलले भने ‘बिरामी पर्दा अस्पताल भन्दा झारफुकमा विश्वास गर्ने समाजका कारण अपांगता बढेको हो।’

तर उनले अपांगताको तथ्यांक अपुरो भएको बताए। उनकाअनुसार गत जनगणनामा महासंघले अपांगताको विस्तृत अध्ययन गर्ने प्रश्नावली विधि वासिङ्टन ग्रुप अफ सर्भे प्रयोग गर्न सरकारलाई ठूलो लविङ गरे पनि त्यो सफल भएन।

‘हामीले अपांगताको विस्तृत तथ्यांक ल्याउन जनगणनामा धेरै कोसिस गर्यौं तर सकिएन,’ पोखरेल भन्छन् ‘सामान्य विधिबाट तथ्यांक संकलन गरियो। तर यसलाई गहन र विस्तृत विष्लेषण गरेर भए पनि प्रतिवेदन प्रकाशन भएको छ। यसबाट केही नयाँबाटो खुलेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply