बैतडीको आधाभन्दा बढी भूभागमा पहिरो र बाढीको जोखिममा

धनगढी साउन ३
बैतडीको आधाभन्दा बढी भूभागमा पहिरो र बाढीको जोखिममा रहेको छ । दश स्थानीय रहेको यस जिल्लाका छ स्थानीय तह बाढी र पहिरोको उच्च जोखिममा रहेका देखिएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा यहाँका छ स्थानीय तहहरु बाढी र पहिरोको उच्च जोखिममा देखिएका हुन् ।

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा पहिरोको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक भीमकान्त शर्माले जानकारी दिनुभयो । यस्तै सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

स्थानीय तहहरुबाट प्राप्त सूचनाहरुलाई बिश्लेषण गर्दै पालिकाहरुमा प्रकोपको स्तर निर्धारण गरिएको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिरोको जोखिम मध्यम रहेको छ । पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिरोको जोखिम मध्यम रहेको छ । यस्तै जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा पहिरोको जोखिम सामान्य रहेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहहरुलाई तयारी अवस्थामा रहनका लागि आग्रह समेत गरिएको छ । बर्षातको समयमा पहिरोको जोखिम बढ्दै जाने र यसले विपद्का घटना समेत निम्त्याउने भएकाले पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । उहाँले भन्नुभयोे,“ गत विगतका वर्षहरुमा पहिरो र बाढीले गरेको क्षतीका आधारमा उच्च र मध्य जोखिम भनेर छुट्याइएका हौ, सोही आधारमा सम्वन्धित स्थानीय तहलाई पूर्वतयारी र सुरक्षित स्थानको पहिचान गर्न आग्रह गरेका छौं ।”

वर्षातको समयमा विपद्का घटना हुन सक्ने भएकाले सम्भावित घटना हरुबाट जोगिनका लागि आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ ।

जिल्लाको प्रकोपको ऐतिहासिक घटनालाई आधार मान्दा यो वर्ष दश हजार घरधुरी प्रभावित हुने अनुमान गरिएको छ ।
विपद्बाट सृजना हुने भौतिक र मानवीय क्षतिको न्यूनीकरण गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ लागू गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply