धनगढी असोज १२
सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरीमा तोकिएको आज ६ वर्ष पुरा भएको छ । सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइले २०७५ असोज १२ गते गोदावरीको वडा नम्बर २ र ४ मा राजधानी तोकेको थियो । तर, राजधानी घोषणा भएको ६ वर्ष पुग्दा पनि अहिले सम्म भौतिक प्रगतिको काम शून्य छ ।
राजधानी तोकिएको क्षेत्रको बेवास्ता गर्दै हाल अस्थायी राजधानी धनगढीमै राजधानीका संरचना थप्ने काम भइरहेको छ ।
दुई तिहाइ प्रदेशसभा सदस्य गोदावरीमा राजधानी राख्ने निर्णय गर्दा पनि अहिले नेताहरूले भने अदालतमा परेको मुद्दाका कारण काम हुन नसकेको रटान लगाउँदै आएका छन् ।
अदालतमा मुद्दा परे पनि त्यो मुद्दा कहाँ पुग्यो किन फैसला भएन भन्नेमा भने कसैले चासो देखाएको पाइँदैन ।
राजधानी तोकिएको क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने अर्थ राज्यमन्त्री समेत रहेका प्रकाश बमले अदालतमा परेको मुद्दाका कारण राजधानी निर्माणको काम रोकिएको पुरानै रटान दोह-याए । उनले संघीय सरकारले राजधानी तोकिएको क्षेत्रको जग्गाको भोगाधिकार नदिँदा काम अगाडि बढ्न नसकेको बताए ।
पछिल्लो समय राजधानीको विषयमा प्रदेशमा बहस तथा छलफल पनि हुन छोडेको छ । चालु आर्थिक वर्षमा सरकारले बजेटबाटै राजधानी हटाएपछि यो मुद्दा झन् ओझेलमा परेको छ ।