के हो पाठेघरको मुखको क्यान्सर, किन लगाइँदैछ एचपीभी खोप ?

माघ १८ धनगढी
यही माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु हुदैछ । १० देखी १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरेर सरकारले अभियान नै सञ्चालन गरी पाठेघरको मुखको क्यान्सर विरुद्धको उक्त खोप लगाउन थालेको हो । अभियान अन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लाहरूले विभिन्न मितिमा खोप लगाउने कार्य गर्न गइरहेका छन् । यसैबिच कैलालीले पनि माघ २२ गतेदेखि ४ गतेसम्म खोप अभियान सञ्चालन गरिरहेको छ । जसमा जिल्लाका ५० हजार बढी किशोरीहरूलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार जिल्लाका ५० हजार ६१३ किशोरीहरूलाई उक्त खोप लगाइनेछ । जसमा विद्यालय जाने (कक्षा ६–१० मा अध्ययनरत) ४७ हजार ३२६ र विद्यालय नजाने (१०–१४ वर्ष उमेरका) ३ हजार २८७ किशोरीलाई उक्त खोप लगाइने कुँवरले बताए ।

उक्त खोप कार्यक्रमका लागि जिल्लामा ७०५ खोप केन्द्र तोकिएको उनले बताए । जसमा ५४६ खोप केन्द्र विद्यालय र १५९ खोप केन्द्र स्वास्थ्य संस्थाहरूमा तोकिएको कुँवरले बताए । उनले खोप कार्यक्रमका लागि सबै जिल्लाका १३ वटै पालिकामा ५३ हजार ३०५ खोप पठाइने बताए । खोप कार्यक्रम सञ्चालनका लागि ७०५ जना स्वास्थ्यकर्मी र १ हजार ४१० जना स्वयंसेवक परिचालन गरिने जनाइएको छ ।

पाठेघरको क्यान्सरको मुख्य कारण एचपीभी संक्रमण भएकाले यसको निदानका लागि खोप लगाउन सरकारले अभियान सञ्चालन गरेको कुँवरले जानकारी दिए । उनका अनुसार एचपीभी भाइरस २०० भन्दा बढी प्रजाति हुन्छन् । उक्त भाइरसहरू मध्ये मानव शरीरमा क्यान्सर गराउने प्रजाति भने १२ प्रकारका मात्रै हुने उनले बताए । जसमा १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१, ५२, ५६, ५८ र ५९ रहेका कुँवरको भनाई छ । कुँवरका अनुसार एचपीभीको १६ र १८ नम्बर प्रजातिले क्यान्सर गराउने सबैभन्दा बढी जोखिम हुन्छ । ती दुई प्रजातिबाट मात्रै करिब ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर भएको तथ्याङ्कले देखाउने गरेको कुँवरले बताए ।

के हो पाठेघरको मुखको क्यान्सर

यो रोग महिलाहरूको पाठेघरको मुखमा हुने रोग हो । यो क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमण बाट हुने गर्दछ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान रहेको कुँवरले बताए । नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये यो क्यान्सर दोस्रो नम्बरमा रहेको तर क्यान्सरबाट महिलाहरूको मृत्यु हुनेमा भने यो क्यान्सर पहिलो नम्बरमा रहेको उनको भनाई छ ।

सर्ने कारण र लक्षणहरू

पाठेघरको मुखको क्यान्सर यौन सङ्क्रमणबाट फैलने भाइरस भएको कुँवरले बताए । यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट सङ्क्रमित हुने उनको भनाई छ । उनका अनुसार यो पाठेघरको मुखको क्यान्सर भए सुरुको अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । तर सो क्यान्सर भएमा भने तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्त अल्पता हुने, कमजोर महसुस हुने जस्ता लक्षणहरू देखिन सक्ने कुँवरले बताए ।

खोप कत्तिको प्रभावकारी र सुरक्षित छ ?

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरका अनुसार एचपीभी खोप नेपालका अन्य खोपहरू जस्तै सुरक्षित र प्रभावकारी रहेको छ । उनले विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीय भएको प्रमाणित भएकाले पनि यसलाई प्रभावकारी मान्न सकिने बताए । त्यस्तै खोपहरू औषधी व्यवस्था विभागमा पनि दर्ता हुने गरेको उनले बताए । उनका अनुसार उक्त खोप नेपालमा प्रयोग गर्नका लागि गत वर्ष नै औषधी व्यवस्था विभागबाट अनुमति प्राप्त भएको थियो । तत्कालीन अवस्थामा उक्त खोप सात वटै प्रदेशका १४ वर्षका करिब १० हजार किशोरीहरूलाई लगाइएको थियो । सो समयमा कुनै पनि किशोरीलाई गम्भीर प्रकारको समस्या नदेखिएको कुँवरले बताए ।

खोपका असरहरू के के छन् ?

यो खोप सुरक्षित भएकाले त्यस्ता कुनै पनि असामान्य असरहरू नदेखिने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख समेत रहेका कुँवरका अनुसार खोपका कारण कुनै असामान्य समस्या नदेखिए पनि सामान्यतया केही असरहरू देखिन सक्छन् । जसमा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने लगायत रहेका छन् । तर यस प्रकारका समस्याहरू केही समयपछि आफै ठिक भएर जाने कुँवरको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply