हेमा भट्ट
कञ्चनपुर १६ फागुन : शुक्लाफाँटामा शुक्रबारबाट ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१’ सञ्चालनमा आएको छ । कञ्चनपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्लाफाँटा नगरपालिका ६ बैजनाथ माविमा उक्त प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम्
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको बताउनुभयो । जीवनभर खेलेपनि खेलाडीलाई जीवन यापन गर्न समस्या हुने गरेको बताउँदै उहाँले खेलकुदका भौतिक संरचनालाई संरक्षण गर्नुपर्ने अवस्था रहेको औल्याउनुभयो । उहाँले जिल्लाका खेलकुदलाई अगाडी बढाउन आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।


खेलकुदका हरेक बिधाहरुको आ–आफ्नो महत्व छ,’ उनले भने, ‘खेलकुदले राष्ट्र निर्माणमा पनि भूमिका खेलेको छ, राष्ट्रिय पहिचानमा पनि यसको छुट्टै महत्व छ।’ खेलकुदका लागि कञ्चनपुर जिल्ला उर्बर भूमि भएको उनले बताए।‘कञ्चनपुर जिल्लाले धेरै खेलाडीहरु जन्माएको छ,’ उनले भने, ‘दिपक विष्टदेखि क्रिकेटका उत्कृष्ट खेलाडी यहीँकै हुनुहुन्छ, त्यसको बीचमा धेरै खेलाडीहरु हुनुहुन्छ।’ उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराले प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गरिने बताए।
‘यहीँ भूमिमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका थियौं,’ उनले भने, ‘जिल्ला स्तरीय प्रतियोगिता शुक्लाफाँटाका लागि ठूलो सिकाई हुनेछ।’ राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता आयोजनाका लागि कृष्णपुर नगरपालिकाले पनि सहयोग गरेको उनले बताए।

‘खेल मैदान निर्माण गर्न कृष्णपुरले रोलर र ग्रेडर सहयोग गरेको थियो, त्यसका लागि नगर प्रमुख र नगरपालिका परिवारलाई धन्यवाद व्यक्त गर्दछु’ उनले भने। कञ्चनपुर जिल्ला खेलकुद विकास समितिको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको सहआयोजनामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भइरहेको छ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले राखेका थिए। उनले जिल्ला खेलकुदको नेतृत्व आफूहरुले गरेपछि स्थानीय तहमै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता गर्ने कार्यको सुरुवात गरेको बताए।


उद्घाटन कार्यक्रममा १४ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा मेडल प्राप्त विभिन्न विधाका खेलाडीहरु र उत्कृष्ट व्यवस्थापकलाई समेत सम्मान गरिएको छ। बंगलादेशको राजधानी ढाकामा सम्पन्न एसियन एम्पुटी च्याम्पियनसिप २०२५ मा नेपाल टिमका सदस्य तथा जिल्ला खेलकुद समिति सदस्य धनबहादुर महता पनि सम्मानित भएका छन्।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुँबेर खड्काको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा विशिष्ट अतिथी एवम् ९ वटै पालिकाहरु जनप्रतिनिधिहरु लगायतले आफ्नो धाराणा राख्नुभएको थियो । खेलकुद प्रशिक्षक, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, सञ्चारकर्मी, खेलाडी लगायतको उपस्थिती रहेको थियो ।






