फागुन २१ धनगढी
आज धनगढी अस्वस्थकर बनेको छ । बिहान ११ः३० बजे धनगढीको वायु अस्वस्थकर तहमा रहेको वातावरण विभागले जनाएको छ । विभागका अनुसार, सो समयमा वायुको गुणस्तर मापदण्ड (एक्यूआई) धनगढीमा १५३ पुगेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । तर धनगढीमा भने बुधबार वायुको गुणस्तर एक्यूआई १५३ पुगेको हो ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो भन्दा माथी १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
धनगढी बाहेक आज देशका अन्य ३ शहर अस्वस्थकर बनेका छन । वातावरण विभागका अनुसार काठमाडौंको शंखपार्क, दाङको देउखुरी र कास्कीको पोखरा सहर अस्वस्थकर बनेका हुन ।
विभागका अनुसार, सो समयमा वायुको गुणस्तर मापदण्ड (एक्यूआई) देउखुरीमा १५७, शंखपार्कमा १५४ र सबैभन्दा बढी पोखरामा एक्यूआई २०५ पुगेको थियो । यीबाहेक अन्य स्थानको एक्यूआई १५० भन्दा कम रहेको विभागले जनाएको छ ।
