दुर्गालक्ष्मी वनको १५ औँ साधारण सभा सम्पन्न

फागुन २२ धनगढी
कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै उपप्रमुख रोकायाले सामुदायिक वनको उपभोगमा समानुपातिक वितरण प्रणाली अपनाउनु पर्ने बताइन् । ‘वनजन्य सामाग्रीको समान वितरण गरेर हुँदैन । समानुपातिक वितरण गर्नुपर्छ’ उनले भनिन् ‘कतिपयले धेरै पटक लाभ लिने कतिपयले कुनै लाभ लिन नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ उनले सामुदायिक वनलाई खण्ड खण्डमा विभाजन गर्नुपर्ने बताइन् । उनले खण्डमा विभाजन गरेर चरन क्षेत्र पनि छोड्नुपर्ने बताइन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) की गोदावरी नगर अध्यक्ष यादी रावतले ठुलो सघर्ष पछि वन समुदायलाई उपभोग गर्न हस्तान्तरण गरिएको बताउँदै यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताइन् । उनले वनमा केही व्यक्तिहरूको हालीमुहाली गर्दा समस्या भएको बताउँदै यसलाई रोक्नुपर्ने बताइन् ।

गोदावरी नगरपालिका – २ का पूर्व वडाध्यक्ष कृष्णराज सुवेदीले अहिले वन विनाश भइरहेकोले यसको संरक्षणमा सबै सचेत हुनुपर्ने बताए । उनले वन संरक्षणका लागि नयाँ उम्रिरहेका बिरुवा जोगाउन आवश्यक रहेको बताए । उनले वनमा अतिक्रमण बढेकाले यसको संरक्षणमा सबैले सचेत हुन आवश्यक रहेको बताए ।

साधारण सभामा वनकी अध्यक्ष सिवा कडायतले आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गरेकी थिइन । उनले साधारण सभामा आगामी आर्थिक वर्षका लागि १८ लाख ३० हजार ४४१ को अनुमानित बजेट पेस गरिन् । उनले विनियोजित बजेटको ३५ प्रतिशत जीविकोपार्जनका लागि खर्च गरिने र २५ प्रतिशत वन विकासका लागि खर्च गरिने बताइन । यस्तै बाकी संस्थागत विकास, सामाजिक विकास र अन्य शीर्षकमा खर्च गरिने बताइन् । सामुदायिक वनले आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेको थियो ।

कार्यक्रममा समाजसेवी स्वर्गीय टिकादत्त जोशी प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । फागुन १५ निधन भएका जोशी वनका लेखा समिति संयोजक समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply