बजार क्षेत्रमा वन जोगाउनै चुनौती, उपभोक्ताले नै गर्दैनन् वास्ता

फागुन २३ धनगढी
एकातिर अतिक्रमणको जोखिम, अर्कोतिर उपभोक्ताले चासो नदिँदा बजार क्षेत्रमा रहेका सामुदायिक वन जोगाउन चुनौती बढ्दै गइरहेको छ । घाँस दाउरा र अन्य वनजन्य सामग्रीको लागि खासै वनमा निर्भर नहुने बजार क्षेत्रका उपभोक्ताले वनका गतिविधिमा समेत बेवास्ता गर्ने गरेका कारण संरक्षणमा चुनौती थपिएको हो ।

बिहीबार अत्तरियामा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वनले १५ औँ वार्षिक साधारण सभा आयोजना गरेको भए पनि साधारण सभामा उपभोक्ता सहभागी नभइदिँदा आयोजक कार्यसमितिलाई कार्यक्रम सञ्चालन गर्न हम्मे–हम्मे परेको थियो । जसका कारण दिउँसो ११ बजे बोलाइएको कार्यक्रम ३ बजे मात्रै सुरु भयो । १७४.७ हेक्टर क्षेत्रफल रहेको वनमा हाल ५ सय भन्दा बढी उपभोक्ता रहेका छन् । त्यसमध्ये आधाजती उपभोक्ताले उपस्थितिमा हस्ताक्षर गरेका भएपनि आधिकाशं आउने र फर्किने गर्दा प्रमुख अतिथि बोल्दा सम्म मञ्च खालि भइसकेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले कार्यसमितिले वनको गतिविधिबारेमा उपभोक्तालाई साधारण सभामा जानकारी गराउने भए पनि उपभोक्ता नै उपस्थित नहुँदा समस्या हुने बताइन् । उनले उपभोक्तालाई अन्य कार्यक्रम राखेर भए पनि वनका बारेमा बुझाइपर्ने बताइन् । उनले वनका उपभोक्तालाई वनबाट लाभ लिन सकिएको अनुभूति गराउनु पर्ने बताइन् । जसका लागि वनजन्य सामग्रीको समानुपातिक वितरण गर्नुपर्ने बताइन् । ‘वनजन्य सामाग्रीको समान वितरण गरेर हुँदैन । समानुपातिक वितरण गर्नुपर्छ’ उनले भनिन् ‘कतिपयले धेरै पटक लाभ लिने कतिपयले कुनै लाभ लिन नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।’

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) की गोदावरी नगर अध्यक्ष यादी रावतले उपभोक्तालाई सुझाव सल्लाह दिन आफू कार्यक्रममा आएको भए पनि उपभोक्ता कार्यक्रममा नबसिदिँदा दुःख लागेको बताइन् । उनले आगामी दिनमा कार्यक्रम गर्दा उपभोक्ताको समयलाई मध्यनजर गरी कार्यक्रम गर्न आग्रह गरिन् । ठुलो सङ्घर्ष पछि वन समुदायलाई उपभोग गर्न हस्तान्तरण गरिएको बताउँदै यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताइन् । उनले वनमा केही व्यक्तिहरूको हालीमुहाली गर्दा समस्या भएको बताउँदै यसलाई रोक्नुपर्ने बताइन् ।

गोदावरी नगरपालिका – २ का पूर्व वडाध्यक्ष कृष्णराज सुवेदीले अहिले वन विनाश भइरहेकोले यसको संरक्षणमा सबै सचेत हुनुपर्ने बताए । उनले वन संरक्षणका लागि नयाँ उम्रिरहेका बिरुवा जोगाउन आवश्यक रहेको बताए । उनले वनमा अतिक्रमण बढेकाले यसको संरक्षणमा सबैले सचेत हुन आवश्यक रहेको बताए ।

साधारण सभामा वनकी अध्यक्ष सिवा कडायतले आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गरेकी थिइन । उनले साधारण सभामा आगामी आर्थिक वर्षका लागि १८ लाख ३० हजार ४४१ को अनुमानित बजेट पेस गरिन् । उनले विनियोजित बजेटको ३५ प्रतिशत जीविकोपार्जनका लागि खर्च गरिने र २५ प्रतिशत वन विकासका लागि खर्च गरिने बताइन । यस्तै बाकी संस्थागत विकास, सामाजिक विकास र अन्य शीर्षकमा खर्च गरिने बताइन् । सामुदायिक वनले आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेको थियो ।

सरकारले वन संरक्षणका गर्ने भन्दै राष्ट्रिय वन उपभोक्तालाई हस्तान्तरण गरेको थियो । जसबाट वन वरिपरिका उपभोक्ताले वनजन्य सामग्रीको लाभ पनि लिन सक्ने र संरक्षण पनि हुने अपेक्षा थियो । तर, बजार क्षेत्र वरिपरिका उपभोक्ता वनमा निर्भर कम हुने गरेका कारण पछिल्लो समय उपभोक्ताबाटै मात्रै वन जोगाउन चुनौती थपिन थालेको छ । जसका कारण हाल दुर्गालक्ष्मी सामुदायिक वन चौतर्फी अतिक्रमणको चपेटामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply