चैत ४ धनगढी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी सावदले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाउनु भएको छ । कञ्चनपुरको बेलौरीमा आयोजित रानाथारु समुदायको होरी मिलन और खख्डेहरा कार्यक्रममा सम्बोधन गर्दै सावदले सरकार सुशासन कायम गर्न असफल भएको बताउनुभयो । पूर्वमन्त्री सावदले झण्डै दुई तिहाइ बहुमत रहेको सरकार जनअपेक्षाअनुरूप परिणाममुखी काम गर्नुपर्नेमा आरोप-प्रत्यारोपमै केन्द्रित भएको उल्लेख गर्नुभयो ।
उहाँले संविधान संशोधन, रोजगारी सिर्जना तथा विकास निर्माण जस्ता महत्त्वपूर्ण विषयमा सरकारले ठोस काम गर्न नसकेको गुनासो गर्नुभयो । “देश विकासको मुख्य एजेन्डामा सरकारले ध्यान दिनुको सट्टा निरर्थक बहसमा अल्झिनु दुःखद छ । सरकार सुशासन, समृद्धि र जनताका आकाङ्क्षालाई प्राथमिकतामा राख्न असफल देखिएको छ,” सावदले भन्नुभयो ।
बेलौरी नगरपालिकाको प्रवर्द्धनमा रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीले आयोजना गरेको कार्यक्रममा रानाथारु संस्कृति झल्किने होरी लगायतका सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए । कार्यक्रममा पूर्व राज्यमन्त्री गोविन्द बहादुर शाही, प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट सहितका जनप्रतिनिधिहरू, बुद्धिजीवी तथा रानाथारु समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले रानाथारु संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिनु भएको छ । आइतबार पूर्वमन्त्री विना मगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रम सोमबार पूर्वमन्त्री एनपी सावदको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । कार्यक्रममा बेलौरी र आसपासका विभिन्न रानाथारु गाउँबाट होरी समूहले सहभागिता जनाएको रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीका अध्यक्ष सुरेश वडायकले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी सबैलाई होरी खेलाउँदै अगुवा कृषक आशरेराम वडायकको ड्रोनद्वारा होरीको रङ्ग छर्किएको थियो ।
