खखडेहरा पर्व मनाइँदै, कैलाली र कञ्चनपुरकामा

हेमा भट्ट ८ चैत २०८१
धनगढी – कैलाली र कञ्चनपुरका राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ का अवसरमा प्रदेश सरकारले शुक्रबार (आज) एक दिन सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिएकाे हाे ।

राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गर्छन् । राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै माैलिकता रहेकाे छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु भेला भएर खखडेहरा फुटाउने गर्छन् भने आफ्नो समुदायका नागरिकहरुको रोगब्याधी नलागोस् भनेर गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने प्रचलन छ ।

राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु खखडेहरा फुटाउन जान्छन् । खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्छ । खखहडेरा गाउँभन्दा बाहिरबाट गाउँलेले ल्याएका सामग्रीहरु एकजुट गरी प्रधान वा गाउँको चौकीदारले फुटाउने चलन छ ।

खखडेहरा फुटाइसकेपछि घर आउँदा फर्केर हेर्न नहुने मान्यता छ। खखडेहरा फुटाएर आउनेहरुले फेरि होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवालगायत सबैको घरमा पुगेर टीका लगाई आशीर्वाद दिने र खुसियाली मनाउने गरिन्छ । गर्मी बढेसँगै प्रकोप बढ्ने समय सुरु हुने भएकाले ती प्रकोपहरु नआउन् भनेर सामूहिक रुपमा राना थारू समुदायले खखडेहरा पर्व सामूहिक रुपमा मनाउने गरेका स्थानीय अगुवाहरू बताउँछन् । राना थारूको बसोबास बढी रहेको वस्तीमा खखडेहरा महोत्सवसमेत हुने गरेको छ ।

खखडेहरा राना थारु समुदायको होरीको महत्वपूर्ण दिन हो। यस दिन प्रदेश सरकारले कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिंदै आएको छ। रानाथारु समुदायका मानिसले होरी पर्व अवधिभरि होरी नाच नाचेर रमाउने चलन छ। जिन्दा होरी अवधिभरि साँझपख र राति होरी नाच्ने गरिन्छ। यसैगरी, मरी होरी अवधिभरि घर–घरमा गएर दिउँसो होरी नाच नाचेर रमाउने गरिन्छ। यस्तै, आफन्तहरुलाई आ–आफ्ना घरमा डाकेर मिठा–मिठा परिकार खुवाउने, खाने चलन छ। रानाथारु समुदायका मानिसले होरी र तीजपर्व धुमधामसँग मनाउँदै आएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply