चैत ९ धनगढी
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आठौं प्रदेश सभा टीकापुरमा सम्पन्न भएको छ । शनिबार सम्पन्न सभाले बन्दसत्र मार्फत कोषाध्यक्ष लालमणी पन्तद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को १८ लाख १४ हजार ६३३ रुपैयाँ बराबरको आयव्यय र कार्यकारी निर्देशक ज्योति भट्टद्वारा प्रस्तुत प्रगति प्रतिवेदन अनुमोदन गरेको छ । बन्दसत्रमा प्रदेशमा आवद्ध विभिन्न जिल्ला, नगर तथा एशोसियट संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
बन्दसत्र अघि प्रदेश सभाको एक समारोहकाबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकालले समुदघाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रहेका ढकालले शुभकामना मन्तव्य राख्दै देशले राजनीतिक तन्त्र भन्दा पनि अर्थतन्त्रको आवश्यकता गरिरहेको बताए । उनले जुनसुकै तन्त्र भएपनि अर्थतन्त्र सुधार बिना देश सम्वृद्ध हुन नसक्ने बताएका छन ।
उद्घाटन समारोहमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा, कानूनी सल्लाहकार बिरबहादुर जेठारा, पूर्व केन्द्रीय सदस्य हेमराज गिरी, लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाई, टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज रावल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रदेश अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष मदनराज पन्तले स्वागत गर्नुका साथै कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक ज्योति भट्टले गरेका थिए । कार्यक्रमको आतिथ्यता टीकापुर उद्योग वाणिज्य संघले गरेको थियो ।
