जेठ २९ धनगढी –
सुदूरपश्चिम प्रदेशस्तरीय गायन तथा नृत्य रियालिटी शो ‘एसईई आइडल सिजन ४’ को फाइनल चरण आगामी असार १ गते धनगढीस्थित ओम प्यालेसमा भव्य कार्यक्रमका साथ सम्पन्न हुने भएको छ।
आयोजक संस्थाका अनुसार, गायन र नृत्य दुवै विधाबाट उत्कृष्ट १७–१७ जना गरी जम्मा ३३ जना प्रतिस्पर्धी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन्।
गत वर्ष साउन ३१ गते उद्घाटन गरिएको यो सिजनमा सुदूरपश्चिमका २२ ठाउँमा अडिसन संचालन गरिएको थियो। ती अडिसनहरूमार्फत ६७ जना प्रतिस्पर्धी सेमिफाइनलमा छनोट भएका थिए भने बैशाख २० गते सम्पन्न सेमिफाइनलपछि तीमध्ये ३३ जना प्रतिभावान विद्यार्थीहरूले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
एसईई आइडलमा सुदूरपश्चिमका विभिन्न विद्यालयका एसईई दिने विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ। उनीहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्न, सशक्त बनाउँदै उज्वल भविष्य निर्माणमा टेवा पु¥याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिँदै आएको आयोजक संस्थाले जानकारी दिएको छ।
विजेताले ७५–७५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र ट्रफी पाउनेछन्। त्यसैगरी, उपविजेताहरूलाई ३०–३० हजार रुपैयाँ नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ। साथै, कक्षा ११ र १२ मा छात्रवृत्तिको अवसर पनि प्रदान गरिनेछ।
यसअघि कार्यक्रमका तीन सिजनहरू सफलता साथ सम्पन्न भइसकेका छन्। चौथो सिजनको फाइनलको तयारी अहिले तीव्र रुपमा अगाडि बढिरहेको आयोजकले जनाएको छ।