कैलालीका १३ वटै पालिकामा सवारी साधन मर्मत र इन्धनमा १५ करोड खर्च

असार ३ धनगढी
कैलालीमा १३ वटै पालिकामा सवारी साधन मर्मत र इन्धन १५ करोड ११ लाख २ हजार ४३७ रुपैयाँ खर्च भएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा पालिकाहरूमा सवारी साधन मर्मत र इन्धन उक्त खर्च भएको पाइएको हो । जुन अधिकांश पालिकामा मितव्ययी र मापदण्ड विपरीत खर्च गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

धनगढी उपमहानगरपालिका सवारी साधन मर्मतमा ३८ लाख २८ हजार २२५ रुपैयाँ खर्च गरेको, जुन आन्तरिक आयको १.१६ प्रतिशत हुन्छ । यस्तै इन्धनमा ३ करोड १० लाख २१ हजार ८५८ रुपैयाँ खर्च गरिएको छ । जसमध्ये कार्यालय प्रयोजन १ करोड १० लाख ४८ हजार २७ रुपैयाँ ७५ पैसा, पदाधिकारी शीर्षकमा ८ लाख ६४ हजार २७७ रुपैयाँ, अन्य प्रयोजन ११ लाख ८१ हजार ३०२ रुपैयाँ र टिप्पर सञ्चालनमा इन्धन खर्चमा १ करोड ७९ लाख २८ हजार २५२ रहेको छ ।

टीकापुर नगरपालिकामा सवारी साधन मर्मतमा ५९ लाख २४ हजार ५०५ रुपैयाँ खर्च गरिएको छ । पालिकामा ट्याक्टर ४, फोहोर वाहन १, शव वाहन १, टिप्पर १, मिनी टिप्पर १, जिप २, वारुण यन्त्र १, भ्याकुलोडर १, मोटरसाइकल ४१, स्कुटर ७ रहेकोमा इन्धनमा ७९ लाख खर्च गरिएको छ ।

गोदावरी नगरपालिकामा सवारी साधन मर्मत ५९ लाख २९ हजार ७६९ रुपैयाँ खर्च गरिएको छ । जुन आन्तरिक आयको ४.३२ प्रतिशत हो । पालिकामा जिप २, स्कारपियो १, टिप्पर ३, एम्बुलेन्स ३, ब्याक हो लोडर २, ट्याक्टर १, दमकल १, शव वाहन १, मोटरसाइकल ५१, स्कुटर ५, जेनरेटर १ रहेकोमा इन्धनमा ९७ लाख ६६ हजार ८४९ रुपैयाँ खर्च गरिएको छ । जसमध्ये कार्यालय प्रयोजनमा ८७ लाख २१ हजार ८४९ र अन्य प्रयोजन शीर्षकमा १० लाख ४५ हजार रुपैयाँ रहेको छ ।

घोडाघोडी नगरपालिकामा सवारी साधन मर्मतमा ३९ लाख ९९ हजार ७९७ रुपैयाँ खर्च गरिएको छ । त्यस्तै इन्धनमा ५६ लाख ७८ हजार ४३७ रुपैयाँ खर्च गरिएको छ । जसमा कार्यालय प्रयोजनमा ४७ लाख ८६ हजार ५७६ रुपैयाँ र अन्य प्रयोजनमा ८ लाख ९१ हजार ८६१ रुपैयाँ खर्च गरिएको प्रतिवेदमा उल्लेख छ ।

लम्की चुहा नगरपालिकामा सवारी साधन मर्मतमा ६४ लाख १ हजार रुपैयाँ खर्च गरिएको छ । पालिकामा २ पाङ्ग्रे ४४ थान, ट्याक्टर ५ थान, स्करोलर २ थान, कन्टेनर २ थान, स्कारपियो २ थान, टिप्पर २ थान, दमकल १ थान, जे.सि.बि. २ थान रहेकोमा १ करोड ११ लाख ५४ हजार ९१२ रुपैयाँ इन्धनमा खर्च गरिएको छ । जसमा कार्यालय प्रयोजनमा ३४ लाख ९५ हजार ८९२ रुपैयाँ र अन्य शीर्षकमा ७६ लाख ५९ हजार २० रुपैयाँ खर्च गरिएको छ ।

भजनी नगरपालिकामा सवारी साधन इन्धन र मर्मतमा ५१ लाख ५२ हजार खर्च गरिएको छ । पालिकामा १ ब्याक हो लोडर, १ टिप्पर, ३ जिप, १ एम्बुलेन्स र ३१ मोटरसाइकल रहेकोमा इन्धन र मर्मतमा गरिएको खर्चमा पदाधिकारी, कर्मचारी तथा सार्वजनिक निर्माणमा खपत भएको इन्धन उपयोगको विवरण खुल्ने अद्यावधिक अभिलेख समेत राखेको नपाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गौरीगंगा नगरपालिकामा सवारी साधन मर्मतमा ४४ लाख ४२ हजार १८७ रुपैयाँ खर्च गरिएको छ । पालिकामा जिप ३ वटा, ब्याक हो लोडर १, लोडर १, मोटरसाइकल ४४, ट्रक १, ट्याक्टर १ र टिप्पर १ थान रहेकोमा ४९ लाख ९३ हजार २४० रुपैयाँ इन्धनमा खर्च गरिएको छ । जसमा कार्यालय प्रयोजनमा २५ लाख, पदाधिकारी शिर्षकमा २० लाख, अन्य प्रयोजन ४ लाख ९३ हजार २४० रुपैयाँ खर्च गरिएको छ ।

जानकी गाउँपालिकामा सवारी साधन मर्मतमा ४६ लाख ६२ हजार ६६५ रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । पालिकामा १ ब्याक हो लोडर, २ टिप्पर, २ जिप, १ एम्बुलेन्स र ३२ मोटरसाइकल रहेकोमा मर्मत खर्चको अभिलेखाङ्कलाई व्यवस्थित बनाउनका साथै यस्ता खर्चमा मितव्ययिता अपनाउनु पर्ने महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ । जानकीमा इन्धनमा ६० लाख २४ हजार ८५३ रुपैयाँ खर्च गरिएको छ ।

बर्दगोरीया गाउँपालिकामा सवारी साधन मर्मतमा २१ लाख ९२ हजार ७०८ खर्च भए पनि मर्मत सम्पन्न फारम, मर्मत अभिलेख खाता तयार नगरी खर्च गरिएको पाइएकाले मर्मतको खर्चको यथार्थता परीक्षण गर्न नसकिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखाले मर्मतलाई मितव्ययी बनाउन तोकिएको ढाँचामा अभिलेखाङ्क गरी अध्यावधिक गर्न भनिएको छ । पालिकामा २ पाङ्ग्रे ३४ थान, एम्बुलेन्स १ थान, लोडर १, स्कारपियो १, रोलर १, ग्रेडर १, टिप्पर २, ट्याक्टर १ र एम्बुलेन्स १ रहेको उल्लेख छ । बर्दगोरीयामा इन्धनमा ३४ लाख ७५ हजार ६१९ रुपैयाँ खर्च गरिएको छ ।

कैलारी गाउँपालिकामा सवारी साधन मर्मतमा २५ लाख खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै इन्धनमा ७२ लाख खर्च भएको छ । पालिकामा जेनरेटर १, जीप २, एम्बुलेन्स १, ट्याक्टर १, जेसीवी १ र ४० मोटरसाइकल रहेको उल्लेख छ । पालिकाले इन्धनको उपयोगको विवरण खुल्ने अद्यावधिक अभिलेख समेत नराखेको पाइएकाले यस्तो इन्धन तथा मर्मत खर्चको अभिरेखाङ्कन व्यवस्थित गर्न प्रतिवेदनमा भनिएको छ ।

मोहन्याल गाउँपालिकामा सवारी साधन मर्मतमा २७ लाख ४ हजार ४१० रुपैयाँ खर्च भएको छ । जुन आन्तरिक आयको २२.८३ प्रतिशत भएकाले यसलाई मितव्ययी बनाउन महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । पालिकामा २ पाङ्ग्रे १७, एम्बुलेन्स, ब्याक होल्डर र पिक अप जिप २/२ रहेको उल्लेख छ । मोहन्यालमा इन्धनमा २७ लाख ४५ हजार ५८१ रुपैयाँ खर्च भएको छ ।

जोशीपुर गाउँपालिकामा सवारी साधन मर्मतमा ११ लाख १५ हजार १३० रुपैयाँ खर्च गरिएको छ । पालिकामा जेनरेटर १, ब्याक हो लोडर, १, जिप १, एम्बुलेन्स १, ट्याक्टर १ र १९ मोटरसाइकल रहेकोमा इन्धनमा ३९ लाख ३४ हजार ८० रुपैयाँ खर्च भएको पाइएको छ । उक्त इन्धन खर्चमा इन्धन उपयोगको विवरण खुल्ने अद्यावधिक अभिलेख समेत नराखेको पाइएकाले इन्धन खर्च र मर्मत खर्चको अभिरेखाङ्कन व्यवस्थित बनाउन भनिएको छ ।

चुरे गाउँपालिकामा सवारी साधन मर्मतमा ३३ लाख ५५ हजार ६३ रुपैयाँ खर्च गरिएको छ । जुन पालिकाको आन्तरिक आयको ४६.७८ प्रतिशत रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । चुरेमा २ पाङ्ग्रे २२, एम्बुलेन्स २, ब्याक होल्डर र पिक अप जिप १/१ थान रहेकोमा इन्धनमा ४७ लाख ४९ रुपैयाँ खर्च गरिएको छ । पालिकामा कुपन सिस्टमबाट इन्धन वितरणको अभिलेख व्यवस्थित नराखेको पाइएकाले खर्चलाई मापदण्डमा आधारित बनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply