हेमा भट्ट
असार ५ धनगढी
कृष्णपुर नगरपालिका–९, चपरतलास्थित एक खेतमा फेला परेको शंकास्पद वस्तुले करिब २० घण्टासम्म स्थानीयमा त्रास फैलाएको छ।
स्थानीय किसान भगवती चौधरीको खेतमा खन्ने क्रममा प्लास्टिकमा बेरिएको अवस्थामा बमजस्तो देखिने वस्तु भेटिएपछि सुरक्षाकर्मीलाई खबर गरिएको थियो।
सूचना प्राप्त भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए। वराहदल गुल्म, भगतपुर कञ्चनपुरबाट सह–सेनानी सुरज कटुवालको नेतृत्वमा आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षा घेरा कायम गर्दै बिहीबार दिउँसो १२:४८ बजे उक्त वस्तु सफलतापूर्वक निष्क्रिय पारेको हो।
घटनास्थल पूर्वमा विमला चौधरी, पश्चिममा तिर्थमान डगोरा, उत्तरमा किसन चौधरीको खेतसँग सीमाना जोडिएको क्षेत्र थियो।
घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। निष्क्रिय पारिएको वस्तु वास्तवमा के थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।