कञ्चनपुरमा अहिलेसम्मकै ठूलो मात्रामा खैरो हिरोइन बरामद

रैकवार खबर, २०८२ असार ७
कञ्चनपुर- सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा हालसम्मकै ठूलो परिमाणको खैरो हिरोइन बरामद गरिएको छ। पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलको एक कोठाबाट शुक्रबार साँझ २७३ ग्राम खैरो हिरोइन फेला परेको हो।

गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले होटलमा छापा मारेको थियो। सो क्रममा पुनर्वास नगरपालिका–६ निवासी ५० वर्षीय दीपक बि.सी. र दार्चुला महाकाली नगरपालिका–३ निवासी ४२ वर्षीय नरसिंह महरा पक्राउ परेका छन्।

बरामद गरिएको खैरो हिरोइन कालो झोलामा लुकाइएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका दुवै जनामाथि हाल विस्तृत अनुसन्धान भइरहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर बाेहराले जानकारी दिनुभयो।

उहाँका अनुसार यो बरामद कञ्चनपुर जिल्लाको लागूऔषध नियन्त्रण इतिहासमा अहिलेसम्मकै ठूलो सफलता हो। यसअघि करिब ११८ ग्राम मात्र खैरो हिरोइन बरामद भएकोमा यस पटक त्योभन्दा दोब्बरभन्दा बढी मात्रामा बरामद भएको छ।

प्रवक्ताका अनुसार, पक्राउ परेका व्यक्तिहरूका मोबाइल फोन, कल डिटेल्स र वित्तीय कारोवारहरूको विश्लेषण भइरहेको छ। अनुसन्धानको क्रममा लागूऔषध गिरोहको संरचना, संलग्न अन्य व्यक्तिहरू र तस्करीको नेटवर्क पहिचान हुने अपेक्षा गरिएको छ।

स्थानीयबासीले प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र सफलता प्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply