कञ्चनपुर, असार १२
सुदूरपश्चिम प्रदेशलाई बिहीबार साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेश सरकारको साक्षरता अभियान अन्तर्गत आयोजित कार्यक्रममा घोषणा गरिएको हो।
शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गा दत्त विष्टका अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९६.१९ प्रतिशत नागरिक साक्षर भइसकेका छन्। कुल जनसंख्या १६ लाख ८८ हजार ३४ मध्ये १६ लाख २३ हजार ७९१ जना साक्षर रहेको तथ्याङ्क छ।
प्रदेशले शिक्षा मन्त्रालयद्वारा तोकिएको १२ वटा मापदण्ड पुरा गरेपछि साक्षरता घोषणा गरिएको हो।
पहिलो साक्षर जिल्ला दार्चुला र अन्तिम डोटी रहेको जनाइएको छ।
कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाह, समाजिक विकासमन्त्री मेघ बहादुर खड्का, प्रमुख प्रतिपक्ष नेता खगराज भट्ट, पूर्व मुख्यमन्त्री राजेन्द्र सिँह रावल लगायतको उपस्थिति थियो।
सरकारले बाँकी असाक्षर नागरिकलाई साक्षर बनाउने अभियान जारी राख्ने जनाएको छ।