धनगढी असार १४
सुदूरपश्चिमका वरिष्ठ पत्रकार राजेन्द्र प्रसाद अवस्थी ‘राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान’बाट सम्मानित भएका छन्। महेन्द्रनगर जेसीज २०२५ का अध्यक्ष समेत रहेका अवस्थीलाई राष्ट्रियता संरक्षण अभियान र डिलाशैनी गाउँपालिकाको संयुक्त आयोजनामा आयोजित चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको अवसरमा सम्मान गरिएको हो।
डिलाशैनी गाउँपालिका, बैतडीमा शुक्रबार सम्पन्न कार्यक्रममा पत्रकार अवस्थीको सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी र संविधानसभा सदस्य आनन्दी पन्तले पत्रकार अवस्थीलाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए।
गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बैतडी जिल्ला अदालतका न्यायाधीश तिर्थराज भट्ट प्रमुख अतिथि थिए। संविधानसभा सदस्य पन्त विशिष्ट अतिथि थिइन्।
कार्यक्रममा नेपाल र भारतका साहित्यकार तथा कविहरूले आ–आफ्ना सिर्जनात्मक प्रस्तुति दिएका थिए।