कृष्ण केसी – २०८२ असार १६
बाँके – २२औं राष्ट्रिय धान दिवस मुलुकभर मनाइरहँदा राप्ती सोनारी गाउँपालिका वडा नं. ८, शम्सेरगञ्जका ५३ वर्षीय भुई किसान हरिश्चन्द्र केसीका पीडा भने अझै उस्तै छन्।
“बर्सेनि असार १५ आउँछ, हामी धान रोप्छौं, मना रोपेर मुरी फलाउने आशा गर्छौं, तर त्यो आशा कहिल्यै पूरा हुँदैन,” हरिश्चन्द्र भन्छन्, “मेशनरीको कुरा सपना जस्तै हो। जसले चाहिन्छ, उसले पाउँदैन। जसले पाए, उसले खेतमा फालिदिन्छ, वा अर्को वर्ष बेचिदिन्छ।”
उनको गुनासो छ – पशुपालनमा युवा पुस्ताको रुचि घट्दो छ, परम्परागत मल उत्पादन हराउँदैछ, रासायनिक मल समयमा उपलब्ध हुँदैन। रैथाने बीउ लोप हुँदै गएका छन् भने हाइब्रिड बीउको भरपर्दो उत्पादन पनि छैन।
पानीका लागि अझै पनि किसानले आकाश हेर्नुपर्ने बाध्यता छ। समर्थन मूल्य तोकिए पनि किसानको धान सरकारी खरीद प्रणालीमा पर्न सक्दैन। “खाद्य संस्थानले नक्कली किसानबाट धान किन्छ, तर हामी सक्कली किसानको धान लाने बाटोमा प्रहरीले नै सताउँछ,” हरिश्चन्द्र दुखेसो पोख्छन्।
सरकारले भारतबाट चामल आयात गरिरहँदा, नेपाली किसानको उत्पादन लिएर उद्योग चलाउने व्यवसायीहरू भने संकटमा परेका छन्। “उद्योगी धरापमा परेका छन्, व्यवसायबाटै पलायन गर्न बाध्य छन्,” केसीको भनाइ छ।
यी सबै समस्याले गर्दा उत्पादन लागत बढेको छ, उत्पादकत्व घटेको छ। यसैकारण किसानले धान दिवसलाई केवल दिवसको रूपमा मात्रै बुझ्न थालेका छन् – भाषण र औपचारिकतामा सीमित।
“सरकारले यस्ता दिवसहरू साँचो अर्थमा किसानको जीवनस्तर उकास्ने नीतिमा रूपान्तरण नगरेसम्म भुई किसानका सपना रित्तै रहनेछन्,” हरिश्चन्द्र केसीको भनाइ छ।
अन्त्यमा, उनले सबैलाई २२औं धान दिवसको शुभकामना भने पनि, त्यो शुभकामनाभित्र पीडाको आवाज स्पष्ट सुनिन्छ।