असार १७ धनगढी
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री ओमविक्रम भाट ‘सरल’ले प्रदेश सरकारको बजेट फितलो र कमजोर भएको बताएका छन् ।
मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले बलियो भनिएको सरकारको बजेट फितलो र कमजोर भएको बताए ।
उनले प्रदेश सरकारले ल्याएको बजेटले जनताको आवश्यकतालाई रत्तिभर पनि सम्बोधन गर्न नसकेको बताए । उनले भने, ‘बजेट बितरणमुखी र स्रोत व्यवस्थापन गर्न नसक्ने गरि आएको छ । यसले सुदूरपश्चिम प्रदेशको दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्दैन ।’
नीति कार्यक्रममा जनतालाई ठूला सपनाको भारी बोकाइएको बताउँदै उनले त्योअनुसार बजेट आउन नसकेको बताए । उनले भने ‘नीति तथा कार्यक्रममा गधालाई बाघको छाला लगाइदिएर बाघ देखाउने प्रयत्न गरिएको थियो,तर, बजेटसम्म आउँदा त्यो गधा करायो र सबैले बाघ होइन यो गधा हो भन्ने अहिले थाहा पाए । मैले यो कुराको संकेत नीति कार्यक्रमको छलफलमा सहभागी हुँदा गरेको थिए ।’