कञ्चनपुर, २० असार — कृषकहरूलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्न कृष्णपुर नगरपालिकाले एक हजार आठ सय ४४ वटा फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।
नगरपालिकाको कृषि विकास शाखाबाट चालु आर्थिक वर्षको वार्षिक स्वीकृत वर्खे फलफूल बिरुवा वितरण कार्यक्रम अन्तर्गत दुई प्रजातिका आँप र लिचीका बिरुवाहरू वितरण गरिएको हो। शाखा प्रमुख लालबहादुर धामीका अनुसार प्रत्येक किसानलाई नागरिकताको आधारमा दुई आँप र दुई लिचीका बिरुवा उपलब्ध गराइएको हो।
वितरित बिरुवामध्ये आँप प्रजाति दशहरी ६००, आम्रपाली ४४४ र लिची शाही ८०० वटा रहेका छन्। दशहरी र लिची शाही प्रति बिरुवा रु ८५ र आम्रपाली आँप प्रति बिरुवा रु ११५ मा खरिद गरी किसानलाई आधा मूल्यमा उपलब्ध गराइएको हो।
शाखा प्रमुख धामीले भने, “किसानलाई नगदे बालीतर्फ आकर्षित गर्दै दीगो आर्थिक अवस्था निर्माण गर्ने र पोषण सुधारका लागि यो कार्यक्रम सञ्चालन गरेका हौं।”
नगरपालिकाले फलफूल खेतीलाई व्यावसायिकता दिनुपर्ने आवश्यकतालाई महसुस गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।