हेमा भट
कञ्चनपुर- भीमदत्त नगरपालिका वडा नम्बर ९, मटनामा बसोबास गर्दै आएका बादी समुदाय अझै पनि पीडा र उपेक्षाको अँध्यारोमा बाँचेका छन्। सरकारले ‘समावेशी समाज’ निर्माणको सपना देखाएको दशकौं बितिसकेको छ तर मटनाको यी परिवार अझै पनि प्लास्टिकले छाएका, पानी चुहिने, चिसोले कठ्यांग्रिने झुपडीमा दिनरात बिताइरहेका छन्।
प्लास्टिकको छानो, हावाले उडाउने झुपडी, रुखको हाँगाले टेको दिएको ढोका — यिनै छन् उनीहरूको “घर”। बर्षा लाग्नासाथ बग्ने, जाडो आउँदा कठ्यांग्रिने र गर्मीमा सास फेर्नै नसकिने अवस्था छ तिनको।
बादी समुदायका एक सदस्य भन्छन्,“हामी पनि नेपाली हौँ, तर हाम्रो दुख देख्ने कोही। जनतावास कार्यक्रम सुनेका छौँ, तर हाम्रोमा किन लागू हुँदैन?”
यो प्रश्न केवल उनीहरूको होइन, सम्पूर्ण न्यायप्रेमी मनको हो। बादी समुदाय ऐतिहासिक रूपमा विभेदको शिकार बनिरहेको समुदाय हो। शिक्षामा पछि, रोजगारीमा अवसरहीन र आवासमा झन् असमानताले पिडित।
भीमदत्त नगरपालिका र संघीय सरकार दुवैसँग ‘जनतावास कार्यक्रम’ नामको आवास सुरक्षाको योजना छ। तर किन आजसम्म मटनाको बादी टोलसम्म त्यो योजना पुग्न सकेन? कहाँ गयो विकासको समावेशी मापदण्ड?
बादी समुदायका बच्चाहरू स्कुल जान मन गर्छन्, तर घरमा किताब राख्ने ठाउँ छैन। वृद्धबृद्धाहरू बिरामी पर्दा ओत लाग्ने सुरक्षित ठाउँ छैन।
आज, हामी सबैको प्रश्न एउटै हो “सरकार कहिले देख्ने हो मटनाको बादीको च्यातिएको छाना र चुहिएको आँखाबाट बग्ने आँसु?”
जनतावास कार्यक्रम तुरुन्त लागू गरियोस्।
बादी समुदायलाई सम्मानपूर्वक बाँच्न दिने अब उत्तरदायित्व सरकारको हो।