अमर गोकुल सामुदायिक वनमा संरक्षण र सरसफाइ अभियान तीव्र

हेमा भट्ट २६ असार २०८२
पुनर्वास, कञ्चनपुर — पुनर्वास नगरपालिका–११ मा अवस्थित अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले हाल सरसफाइ तथा संरक्षण कार्यलाई तीव्र बनाएको छ। फलफूलका बोटबिरुवा गोडमेल, झाडी सरसफाइ, डढेलो नियन्त्रण, अवैध कटानीको रोकथाम र नियमित निगरानीजस्ता क्रियाकलापमा समूह सक्रिय देखिएको छ।

समूहका अध्यक्ष मान बहादुर थापाका अनुसार सामुदायिक वन व्यवस्थापनको नियम तथा विधानअनुसार नै सबै कार्यहरू अगाडि बढाइएका छन्। उनका अनुसार, “वनलाई संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो। समूहले वनको दिगो उपयोग, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको छ।”

डढेलो नियन्त्रण र वन ऐनको पालना सुनिश्चित गर्न नियमित गस्ती भइरहेको छ। साथै, दिगो वन व्यवस्थापनका लागि थप योजनाहरू कार्यान्वयन गर्ने तयारी भइरहेको अध्यक्ष थापाले जानकारी दिए।

काठ वितरणमा पारदर्शिता- काठ विक्री वितरण कार्यमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी र अगुवा व्यक्तिहरूको उपस्थितिमा निर्णय गरि विक्री वितरण गरिएको बताए । हालसम्म संकलन गरिएको काठको वितरण केही उपभोक्तालाई बाँकी रहेको छ। “खेतीपातीको चापका कारण बाँकी किसानहरूलाई वितरण प्रक्रिया केही ढिला भएको हो,” अध्यक्ष थापाले स्पष्ट पारे।

अग्निजन्य घटनाबाट सुरक्षित
विसं २०७९ यता आगलागीका घटना नहुनु सामुदायिक वनको ठूलो उपलब्धि भएको अध्यक्ष थापाको भनाइ छ। “डढेलो नियन्त्रण सफल भएपछि वन क्षेत्रमा रोपिएका बोटबिरुवा फस्टाएका छन्,” उनले भने।

मेन्था प्रशोधन र जडीबुटी खेतीतर्फ अग्रसरता-समूहले उपभोक्ताहरूको सहभागितामा मेन्था प्रशोधनको काम थालेको छ, जसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका साथै जिविकोपार्जनको प्रमुख श्रोत बन्ने विश्वास लिएको छ। साथै, जडीबुटी खेतीलाई प्रोत्साहन गर्दै सामुदायिक वनलाई बहुआयामिक फाइदा दिने दिशामा काम अघि बढाइएको अध्यक्षले जानकारी गराए।

समूहले आगामी दिनमा अझ व्यवस्थित र दिगो वन व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply