टप एन्ड टी-२० सिरिजमा पाकिस्तान शाहिन्सासँग खेल्दै नेपाल

भदौ ६ धनगढी
अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आज पाकिस्तान शाहिन्ससँग खेल्दैछ।

डार्बिनको मर्रारा क्रिकेट ग्राउन्ड-२ मा नेपाल र पाकिस्तान शाहिन्सबीच अपराह्न सवा ३ बजे खेल सुरू हुनेछ।

यो खेल जारी सिरिजमा नेपालका लागि अन्तिम खेल हो।

नेपालले यसअघि नै खेलेको पाँच खेलमा दुई जित निकालेर ४ अंकसहित सातौं नम्बरमा छ।

नेपालले यसअघि बुधबार मेलवर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको थियो। त्यसअघि मंगलबार होबार्ट हुरिकेन्सलाई ६६ रनले हराएको थियो।

सुरुवाती तीन खेलमा भने नेपाल पराजित भएको थियो।

नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।

यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो।

यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्नेछ।

नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।

एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply