काठमाडौँ, फागुन १७ गते । दक्षिण अफ्रिका टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राख्दै सेमिफाइनलमा पुगेको छ । सुपर आठअन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बावेलाई पाँच विकेटले हरायो ।
दिल्लीस्थित अरुण जेटली रङ्गशालामा जितका लागि एक सय ५४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । जितसँगै दक्षिण अफ्रिका तीन खेलबाट ६ अङ्क जोडेदै समूह–१ को शीर्षस्थानमा रह्यो ।
यस समूहबाट अब साविक विजेता भारत र वेस्ट इन्डिजमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ । अघिल्ला दुई खेलबाट समान दुई दुई अङ्क बनाएको वेस्ट इन्डिन दोस्रो र भारत तेस्रो स्थानमा छ ।
सुपर आठमा सबै हार खेपेको जिम्बावे बाहिरिएको छ । समूह–२ बाट भने इङ्ल्यान्ड र न्युजिल्यान्डले सेमिफाइनल यात्रा तय गरेको छ । यस समूहबाट पाकिस्तान र विश्वकप आयोजक अर्को टोली श्रीलङ्का बाहिरिएको छ ।
दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेभिसले ४२ रन बनाउनुभयो । यस्तै रायन रिकेल्टनले ३१ र डेभिड मिलरले २२ तथा जर्ज लिन्डेले अविजित ३० र ट्रिस्टन स्टब्सले २१ रन बनाउनुभयो । बलिङमा जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिनुभयो । ब्लेसिङ मुजराबानीलाई र ब्राड इभान्सले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो । जिम्बावेका लागि सिकन्दर राजाले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
उहाँले ४३ बलमा आठ चौका र चार छक्का हान्नुभयो । क्लाइभ मडान्डेले अविजित २६ र ब्रायन बेनेटले १५ रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाका क्वेना माफाका र कोर्बिन बोशले दुई दुई विकेट लिनुभयो ।
