दसैँका १२ दिन : कर्णालीमा ५१ वटा सवारी दुर्घटना, ६ जनाको मृत्यु

असोज १८

कर्णाली प्रदेशमा १२ दिनको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांकअनुसार असोज ६ गते घटस्थापनाको दिनदेखि आज शनिबारसम्मको अवधिमा उक्त दुर्घटनाहरू भएका हुन् ।

ती दुर्घटनामा ६ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले बताए । मृत्यु हुनेमा ४ पुरुष, १ महिला, १ बालक रहेका छन् ।

यस्तै, दुर्घटनामा परी १३२ जना घाइते भएका छन् । घाइतेमध्ये ५६ जना गम्भीर घाइते छन् भने बाँकी ७६ जना सामान्य घाइते भएका छन् ।

कुन जिल्लामा कति दुर्घटना ?

प्रहरीका अनुसार, १० जिल्ला रहेको कर्णालीमा यो अवधिमा सबैभन्दा बढी सुर्खेतमा १९ वटा सवारी दुर्घटना २५ वटा सवारी साधन क्षतिग्रस्त बनेका छन् । १ जना पुरुषको मृत्यु भएको छ भने १२ जना पुरुष, ३ महिला, ३ बालक, १ बालिका गरी १९ जना गम्भीर घाइते बनेका छन् ।

यस्तै, १६ पुरुष, ४ महिला, २ बालक, २ बालिका गरी २४ जना सामान्य घाइते भएका छन् ।

यो अवधिमा सल्यानमा ६ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३ जनाको मृत्यु, ८ जना गम्भीर घाइते र १ जना सामान्य घाइते भएका छन् । रुकुम पश्चिममा भएका १० वटा सवारी दुर्घटनामा परी ११ जना गम्भीर र १४ जना सामान्य घाइते भएका छन् ।

जाजरकोटमा ४ वटा सवारी दुर्घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

यस्तै, यो अवधिमा दैलेखमा भएका चार वटा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, २६ जना घाइते भएका छन् भने कालिकोटमा ३ वटा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, जुम्लामा ४ वटा सवारी दुर्घटना भएका छन्, जसमा ८ जना घाइते भए । डोल्पामा भएको एक दुर्घटनामा परी १ जना मात्रै घाइते भएको तथ्याङ्क प्रहरीसँग छ ।

यो अवधिमा हुम्ला र मुगुका भने कुनै दुर्घटनाहरू भएका छैनन् ।

प्रदेश प्रहरी कार्यालयले दसैँ सुरु भएको दिन देखिनै सुरक्षा योजना लागु गरेर कार्यान्वयनमा लगेको थियो । कार्तिक १० गतेसम्म लागु हुने गरी कार्यान्वयनमा लगिएको उक्त योजना अनुरूप प्रदेशभर १ हजार २१८ वटा ड्युटीमा तीन हजार ९०८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन १३० स्थानमा पिकेट राखिएको छ भने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ भइरहेको छ । ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा सञ्चालन गरिएको छ, जसले सवारी आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुर्‍याएको प्रहरीको निष्कर्ष छ । जसका कारण विगतजस्तो सवारी दुर्घटना नबढेको र भएपछि समयमै उद्धार हुँदा मृतकको सङ्ख्यामा कमी आएको अनुमान प्रहरीको छ ।

सडक सुरक्षालाई ध्यानमा राख्दै सडक तथा राजमार्ग लगायतका क्षेत्रका ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

प्रदेश प्रहरी प्रवक्ता खनालले सडक सुशासन, सार्वजनिक यातायातको सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि विशेष पहल गरिएको बताए ।

उनका अनुसार सुरक्षा योजना अनुसार, प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply