असोज २५
कैलाली । भजनी नगरपालिकामा बाढी प्रभावित समुदायका लागि आत्मसुरक्षा सम्बन्धी तीन दिने तालिम सुरु भएको छ।
भजनी नगरपालिकाको समन्वय र Kerk in Actie को आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज (MPDS) डडेल्धुराले यो तालिम सञ्चालन गरेको हो।
तालिम बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालीन अवस्थामा सहयोग गर्न पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत सञ्चालन गरिएको हो।
यसको उद्देश्य स्थानीय स्रोत–साधनको प्रयोगमार्फत विपद् जोखिम न्यूनीकरणमा समुदाय र टास्कफोर्स सदस्यहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै प्रभावकारी रूपमा टास्कफोर्स परिचालन गर्नु रहेको छ।
तीन दिने तालिममा प्रशिक्षक रतन टमट्टा र चन्द्र साउँदले सहजीकरण गरिरहेका छन्।
तालिमको उद्घाटन भजनी नगरपालिका प्रमुख केबल चौधरीले गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख चौधरीले विपद् व्यवस्थापनको क्षेत्रमा MPDS संस्थाले गरेको योगदानको प्रशंसा गर्दै तालिमले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिलाल रेग्मी, वडा सदस्य राजेश चौधरी, वडा सदस्य हैरानीदेवी डगौरा लगायतको उपस्थिति रहेको थियो।
तालिममा नगरपालिका विपद् टास्कफोर्स, समुदायका अगुवा र जनप्रतिनिधिसहित २५ जना सहभागी छन्।
कार्यक्रम बहुउद्देश्यीय विकास समाज डडेल्धुराका परियोजना संयोजक शिवराज पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा संस्थाका डिआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले परियोजनाको उद्देश्य र गतिविधि बारे प्रकाश पार्नुभएको थियो।