जेनजी आन्दोलनले त्रिविको बेथितिमा गरेको खबरदारी

असोज २७
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा ठूलो मानवीय क्षति भयो। माओवादी सशस्त्र युद्धबाहेक आजसम्मका कुनै आन्दोलन वा क्रान्तिमा यति धेरै नागरिकको सहादत भएको थिएन, यति धेरै घाइते भएका थिएनन्।

आन्दोलनको आवरणमा भएको विध्वंश, तोडफोड तथा आगजनीले भौतिक, पुरातात्त्विक र आर्थिक क्षेत्रमा अथाह र अपूरणीय क्षति भयो।

परिणाम स्वरूप, सामाजिक र मनोवैज्ञानिक जीवनमा भएको आघातले हरेक नेपालीका मनमा कहिल्यै नपुरिने घाउ लागेको छ। एक्काइसौं शताब्दीको सभ्य समाजमा यो घटना कहिल्यै नमेटिने दाग भएको छ।

इतिहासले यो आन्दोलनलाई अKसोच, त्रास र ध्वंशको घटनfका रूपमा मात्र हेर्ने छैन। कवि गोपालप्रसाद रिमालले ‘एक जुगमा एक दिन एक पटक आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ’ भनेका थिए।

यो आन्दोलन पनि विरलै हुने ऐतिहासिक क्रान्ति हो।

यो क्रान्तिले सर्वसाधारण नेपालीको मनमा दशकौंदेखि गुम्सिएको आक्रोश व्यक्त गरेको छ। ठूलो चेम्बरमा थपिँदै र गुम्सिँदै गरेको धुवाँको मुस्लो चेम्बर फुटाएर निस्किएझैं भएको छ।

यो आन्दोलन दलीय भागबन्डा, कुशासन र भ्रष्टाचारले सीमा नाघेपछि सहनशक्तिको बाँध फुटेर निस्किएको एकमुष्ट आक्रोश हो।

जेनजी आन्दोलनले राजनीतिक दललाई आफ्नो संस्कार र क्रियाकलापको निर्मम समीक्षा गर्ने र सुधार्ने मौका दिएको छ। प्रशासन र सार्वजनिक सेवाप्रणाली पारदर्शी र चुस्त बनाउन बलियो पाठ सिकाएको छ।

आशा गरौं, यो क्रान्ति राजनीति र सार्वजनिक प्रशासन सुधारको बलियो अस्त्र बन्नेछ; यसले नेपाललाई उन्नत बाटोमा हिँडाउन अहिलेसम्मका बेथिति त्यागेर मार्ग परिवर्तन गराउने छ।

यस क्रान्तिले हरेक व्यक्ति र संस्थालाई आफ्ना उद्देश्य, कार्यकलाप र संस्कारको गम्भीर समीक्षा गर्न बाध्य पारेको छ।

अब पनि हामीले आफ्नो संस्कार र व्यवहार सुधारेनौं भने देशका लागि बलिदान गर्ने ती युवाको आत्माले धिक्कार्ने छ।

यस लेखमा मैले आफू कार्यरत संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सुधारमा जेनजी आन्दोलनले गरेको खबरदारी र सन्देशको चर्चा गरेको छु। खबरदारी अहिलेसम्मका बेथितिप्रति हो, बेथितिका सर्जकप्रति हो।

पहिले अहिलेसम्मका बेथितिको कुरा गरौं।

त्रिवि मुख्यतः २०४६ सालको राजनीतिक परिवर्तनपछि दलीयकरण र भागबन्डाको सिकार बन्यो। उच्चशिक्षाको गर्विलो इतिहास बोकेको यो संस्थामा सरकार परिवर्तनसँगै दलनिकटको नेतृत्व स्थापित गर्ने र सोही बमोजिम सबै निकायको नेतृत्व हत्याउने अभ्यास सुरू भयो।

राजनीतिक दलले प्राध्यापक, विद्यार्थी र कर्मचारीका आआफ्ना भ्रातृ संगठन बनाए।

ती संगठनलाई पद बार्गेनिङ गर्ने समूहका रूपमा मलजल गरे। हरेक निकायमा र क्याम्पसमा पद हत्याउन र अर्को पक्षलाई निषेध गर्न आ–आफ्ना विद्यार्थी संगठनलाई बाहुबली समूहका रूपमा प्रयोग गरे।

विद्यार्थी नेताहरू नियमित अध्ययन सकेर पेसागत जीवनमा प्रवेश गर्नुको सट्टा क्याम्पसमा बसेर पेसेवर नेता हुन थाले। हुँदाहुँदा पछिल्लो चरणमा ती संगठनका कतिपय विद्यार्थी नेताले ठेक्का र कमिसनमा समेत आँखा गाडे, संगठनलाई कमाइखाने भाँडा बनाए।

राजनीतिक सामीप्य र पदले शक्ति आर्जन हुने भएपछि एउटै संगठनभित्र पनि गुट अनुसार अलगअलग नेतृत्व बनाए, एकअर्कामा द्वन्द्व र हानाथाप गरे। त्रिविका हरेक निकायले र क्याम्पसले धेरै गुटका अलगअलग नेतासँग ‘डिल’ गर्नुपर्ने भयो।

प्राध्यापकहरू पनि राजनीतिक दल र गुट अनुसार आ–आफ्ना संगठनमा विभाजित भए, सहअस्तित्व र सहकार्यको संस्कृति विकृत भयो। प्राज्ञिक कार्यमा पर्याप्त समय नदिने, संगठनको भेला र काममा बलियो ढंगले सहभागी हुने प्रवृत्ति विकास भयो। प्राध्यापकहरू स्वतन्त्र भएर प्राज्ञिक भूमिका निर्वाह गर्न मुस्किल भयो।

फलस्वरूप हामी प्राध्यापकहरू आ–आफूमा विभाजित भयौं। आ–आफूमा विरोधी भयौं। एकले अर्कालाई निषेध गर्न थाल्यौं। आफूलाई सक्षम बनाउनमा भन्दा पनि अरूको विरोध गर्नमा तल्लीन भयौं। फलस्वरूप हामी आफै त्रिविभित्र द्वन्द्व सिर्जना गर्ने कारण बन्यौं।

खासगरी २०६२/६३ को जनआन्दोलनपछि ‘सहकार्य र सहमति’ को आवरणमा विश्वविद्यालयका उपकुलपतिदेखि विभागीय प्रमुखसम्मका पद तीनवटा राजनीतिक दलले भागबन्डा गर्ने प्रवृत्ति विकास भयो। योग्यता र क्षमताका आधारमा ज्यालादारी शिक्षक र कर्मचारी नियुक्त गर्न नसकिने भयो। तीन दलको भागबन्डा नमिलेसम्म सानोभन्दा सानो नियुक्ति पनि नहुने भयो।

अर्कोतिर, भागबन्डा गरेर हरेक निकायमा र क्याम्पसमा निजी स्रोत, अस्थायी र करारमा आफूपक्षीय शिक्षक र कर्मचारी नियुक्ति गर्ने होड चल्यो।

यसरी नियुक्ति लिएपछि प्रक्रिया पुर्‍याएर स्थायी बनाउन आन्दोलन गर्ने परिपाटी बस्यो। विद्यार्थी, प्राध्यापक र कर्मचारीका अलगअलग संगठनका कारण त्रिविमा योग्य व्यक्तिले अवसर पाउनै छाडे।

आफूले भने अनुसार नभए प्राध्यापक, शिक्षक र कर्मचारीका गुटले मूल ढोकामा तालाबन्दी गर्ने परिपाटी विकास भयो। तालाबन्दीले नपुगेर तोडफोड र आगजनी हुन थाल्यो। क्याम्पस प्रमुख वा विभागीय प्रमुखले त्रास र अपमानको भारी बोकेर काम गर्नुपर्ने भयो। आन्दोलन र तालाबन्दीको अर्को नाम नै त्रिवि हुन पुग्यो।

२०७७/७८ ताका केन्द्रीय कार्यालयमा २८ महिनामा १८२ दिन तालाबन्दी भएर त्रिविमा एउटा दुःखद इतिहास बन्यो।

स्थायी नियुक्तिका लागि सेवा आयोग पनि स्वतन्त्र हुन सकेन। विज्ञहरू पनि भागबन्डामै बोलाउने परिपाटी बस्यो। परीक्षाको प्रक्रिया र विधिमा अनियमितता हुन थाल्यो। उत्तरपुस्तिकामा नम्बर घटाउने र थप्ने घटना भए। अन्ततः अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अदालतले सेवा आयोगका पदाधिकारी र प्राध्यापकलाई नै सजाय गर्नुपर्ने स्थिति आयो।

यस्तो बेथितिसँगै ज्ञानको मन्दिरमा मर्यादित संस्कार हराउँदै गयो। स्वार्थसिद्ध गर्न प्राध्यापकले बाहुबली विद्यार्थीको शरण लिने, विद्यार्थी संगठनलाई प्रयोग गरी निर्णयकर्तालाई धम्की दिने र अपमान गर्ने प्रवृत्ति विकास भयो।

हुँदाहुँदा विद्यार्थीले प्राध्यापकमाथि मरणासन्न हुने गरी कुटपिट गर्न थाले। पर्दापछाडि प्राध्यापक र राजनीतिक संगठनद्वारा हिंसाका लागि उक्साउने र मलजल गर्ने काम भयो।

यो भयो बेथिति र विसंगतिको कुरा।

यो मात्रै त्रिविको परिचय होइन। यहाँ धेरै राम्रा काम पनि भएका छन्। धेरै प्राध्यापक, कर्मचारी र विद्यार्थीले अनुकरणीय र उदाहरणीय काम गरेका छन्। विकृति र विसंगति हुर्किँदै गएपछि राम्रा कामले त्रिविको गर्विलो इतिहास बचाउन सकेन।

जेनजी आन्दोलनको मुख्य उद्देश्य यस्तै दलीयकरण र भागबन्डाको चरम बेथिति जरैदेखि उखाल्नु हो। यसमा सम्बन्धित सबैको आँखा खुल्नु जरूरी छ।

त्रिवि सुधारका लागि यस आन्दोलनले कसलाई के के सन्देश दिएको छ, यहाँ त्यसको चर्चा गरेको छु।

१. पदाधिकारी

अब पदाधिकारीले यथास्थिति र टालटुले काम छाडेर तीव्र गति लिनुपर्छ र प्राज्ञिक संस्कृति निर्माणको नेतृत्व गर्नुपर्छ।

उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन, कार्यकारी निर्देशक र क्याम्पस प्रमुखले आ–आफ्ना संस्थामा भएका बेथिति र विकृतिको निर्मम समीक्षा गर्नुपर्छ। त्यस अनुसार सुधारको मार्गचित्र तयार गरी कार्यान्वयन गर्नुपर्छ।

उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलाई एकमुस्ट अनुरोध छ — अब विश्वविद्यालय सुधारका लागि सर्वपक्षीय गोलमेच छलफल चलाउनुहोस्। प्राध्यापक, कर्मचारी र विद्यार्थीका सबै संगठनलाई विश्वविद्यालय सुधारका निम्ति आआफ्ना अवधारणा र प्रतिबद्धता लिएर आउन आह्वान गर्नुहोस्।

सबैको अवधारणामा छलफल गर्न फोरम तयार गर्ने र नेतृत्व दिने काम तपाईंहरूको हो। त्यहाँ अन्तरसमूह छलफल होओस्, सुधारको साझा मार्गचित्र तयार होओस्। तत्कालीन र दीर्घकालीन कार्ययोजना र कार्यविधि तयार होओस्।

ऐनद्वारा संशोधन गर्नुपर्ने प्रावधानको खाकासमेत तयार होओस्। त्यस्तो खाका निर्वाचनपछि बन्ने संसद र सरकारका लागि त्रिवि सुधारको मूल आधार बनोस्।

त्यस्तो साझा मार्गचित्र र कार्ययोजनामा सबैको हस्ताक्षर र प्रतिबद्धता रहोस्। तपाईंहरूको कार्यकालमा उल्लिखित बेथितिहरू पूर्ण रूपले निर्मूल होऊन्।

२. प्राध्यापक

पेसागत रूपमा प्राध्यापकलाई सुम्पिएका दुई महत्त्वपूर्ण जिम्मेवारी छन्। ती हुन् विचार–ज्ञान निर्माण र सम्प्रेषण। प्राध्यापक विशुद्ध रूपमा यही काममा केन्द्रित हुनुपर्छ।

प्राध्यापकका संगठनले राजनीतिक दलको पुच्छर भएर पद र सुविधाका लागि ढोका ढकढक्याउन र नेताको चाकरी गर्न बन्द गर्नुपर्छ। मागपत्र तेर्स्याउन, तालाबन्दी गर्न र पदाधिकारीलाई तर्साउन बन्द गर्नुपर्छ।

हरेक काम प्राज्ञिक र बौद्धिक सीमाभित्र रहेर गर्नुपर्छ। प्राध्यापकका वैचारिक संगठनले राजनीति दलको भ्रातृ संगठनको जस्तो काम गर्न बन्द गरी संगठनको उद्देश्य प्रस्ट पार्नुपर्छ।

वैचारिक संगठनका रूपमा दाबी गर्ने हो भने दर्शन र विचारमा बहस गर्नुपर्छ। पाठ्यक्रम, शैक्षिक कार्यक्रम र विद्यार्थी मूल्यांकनमा समयानुकूल सुधारका बारेमा छलफल चलाउनुपर्छ। अध्ययन–अनुसन्धानमार्फत ज्ञान निर्माण र प्रकाशनको नेतृत्व गर्नुपर्छ।

अध्ययन–अनुसन्धानका लागि बजेट खोज्ने, ज्ञान सम्मेलन आयोजना गर्ने जस्ता काममा लाग्नुपर्छ। यस्ता कामको वार्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्न सके मात्र संगठनको औचित्य रहन्छ।

व्यक्तिगत रूपमा हरेक प्राध्यापकले आफूले काम गर्ने संस्था र कार्यक्रममा आफूले विशिष्ट योगदान गर्ने अठोट गर्नुपर्छ, त्यस अनुसार काम गर्नुपर्छ।

हरेक प्राध्यापकले आफूलाई संगठन, राजनीतिक दल र गुटभन्दा माथि राखेर आफ्नो प्राज्ञिक पहिचान र योगदानका विषयमा सोच्नुपर्छ। नियमित शिक्षणका अतिरिक्त आफूले ज्ञान निर्माण, प्रकाशन र सम्प्रेषणको विधिद्वारा यथेष्ट योगदान गर्नुपर्छ।

३. विद्यार्थी

विद्यार्थीको मूल कार्य अध्ययन, सिकाइ र व्यक्तित्व विकास हो। विश्वविद्यालयमा हरेक विद्यार्थीले आफूले चाहेको विषयगत र पेसागत क्षेत्रमा आवश्यक ज्ञान, सीप, व्यवहार र व्यक्तित्व निर्माण गर्न आफ्नो समय र ऊर्जा खर्च गर्नुपर्छ।

विद्यार्थी संगठनहरू विश्वविद्यालयमा समस्याको कारण होइन, समाधान बन्नुपर्छ।

जेनजी आन्दोलनका क्रममा त्रिवि केन्द्रीय क्याम्पस लगायत धेरै क्याम्पसमा विद्यार्थी संगठनका बोर्ड किन जलाइए? यो प्रश्नको जबाफ खोज्न जरूरी छ।

राजनीतिक दल र तिनका गुटको अभीष्ट पूरा गर्ने औजार मात्र बन्ने विद्यार्थी संगठनको औचित्य रहँदैन।

विद्यार्थी संगठन विद्यार्थीका समस्या समाधानमा र शिक्षण–सिकाइ सुधारमा मात्र केन्द्रित रही मर्यादित र रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ।

अब पेसेवर र स्थायी रूपमा विद्यार्थी नेता बन्ने परिपाटी अन्त्य हुनुपर्छ। विद्यार्थीहरूले पेसेवर नेतालाई बहिष्कार गर्नुपर्छ।

४. कर्मचारी

त्रिविमा कार्यरत कर्मचारीको कार्यक्षमतामा ठूलो सुधारको खाँचो छ। कर्मचारीले आफ्नो पेसागत कार्यक्षमता अभिवृद्धिका लागि सोच्नुपर्छ।

कर्मचारीको प्रशासनिक ढिलासुस्ती त्रिविको ठूलो समस्या हो। कर्मचारीहरू सेवामुखी हुन आवश्यक छ।

कर्मचारीले पनि राजनीतिक समूहका आधारमा थरीथरी संगठन बनाएका छन्। कर्मचारीहरू यसरी विभाजित हुनु अनुचित छ। एउटा पेसागत संगठनको छाताभित्र बसेर सबैले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ।

समग्रमा, अब राजनीतिक दलका भ्रातृ संगठनका रूपमा प्राध्यापक, विद्यार्थी कर्मचारीका अलग अलग संगठन र गुटको औचित्य छैन। यस्ता बग्रेल्ती संगठन नै विश्वविद्यालयमा दलीयकरणमा मलजल गर्ने माध्यम हुन्।

हामी झुन्ड झुन्डमा बाँडिएर दलीयकरणको मतियार किन बन्ने? भूपी शेरचनले भनेजस्तो हामी ‘पुरानो क्यारम–बोर्डका गोटी’ मात्र कति बनिरहने? दलको सदस्यता लिएकाहरू यी संगठनको नेतृत्वमा बस्ने अनि पेसागत भनेर पत्याइरहने?

यी प्रश्नमा सोच्न आवश्यक छ।

विश्वविद्यालय ज्ञानको मन्दिर हो। यहाँ प्राध्यापक, विद्यार्थी र कर्मचारी सबैले प्राज्ञिक संस्कृति निर्माण गर्न भूमिका निर्वाह गर्नुपर्छ। सबैले आआफ्नो कार्यस्थल र शैक्षिक कार्यक्रम उन्नत बनाउने विषयमा सोच्नुपर्छ र तदनुकूल काम गर्नुपर्छ।

पदाधिकारी र नेतृत्वले सहज रूपमा काम गर्ने वातावरण बनाउन सबै पक्षको सहयोग चाहिन्छ।

त्रिविको मूल रोग तालाबन्दी, तोडफोड र धाकधम्की हो। अहिले यो रोग सरकारी लगानीका सबै विश्वविद्यालयमा सरेको छ। त्रिविमा यस्तो रोगको निदान र उपचार सुरू हुनेबित्तिकै अन्य विश्वविद्यालयमा पनि त्यसको प्रभाव पर्न जान्छ।

प्राध्यापक, विद्यार्थी र कर्मचारीका सबै संगठनले ज्ञानको पवित्र संस्थामा अब उप्रान्त तालाबन्दी गर्दैनौं भनेर सामूहिक प्रतिबद्धता जनाउनुपर्छ। विद्यार्थी संगठन र विभिन्न गुटबाट हुने तोडफोड र धाकधम्की बन्द हुनुपर्छ।

जेनजी आन्दोलन त्रिभुवन विश्वविद्यालय र समग्र नेपाली समाजको इतिहासमा एउटा युगान्तकारी मोड हो।

यो केवल विद्रोह, तोडफोड र आगजनीको इतिहास होइन; चेतना जागृत गर्ने, विकृतिको जरा उखेल्ने र दीर्घकालीन सुधारको ढोका खोल्ने ऐतिहासिक अवसर पनि हो।

यो आन्दोलनले दशकौंसम्म थुप्रिएको दलीयकरण, भागबन्डा, कुशासन, भ्रष्टाचार र विकृति विरूद्धको जनआवाज बोलेको छ।

अब परिवर्तनको यो युगान्तकारी घटनाको साक्षी भएर पनि हामीले यथास्थितिमै पक्षपोषण गर्ने हो भने युवाहरूको बलिदानले हामीलाई पनि सराप्ने छ।

यो आन्दोलनले स्पष्ट सन्देश दिएको छ – अब त्रिवि केवल यथास्थिति र टालटुले प्रयासले चल्न सक्दैन। हालको बाटो परिवर्तन गर्न पदाधिकारीले सर्वपक्षीय संवादमार्फत सुधारको साझा मार्गचित्र तयार गर्नुपर्छ।

प्राध्यापकहरू दलगत स्वार्थभन्दा माथि उठेर ज्ञान निर्माण र अनुसन्धानमा केन्द्रित हुनुपर्छ। विद्यार्थीहरू पेसेवर राजनीति छाडेर शिक्षण–सिकाइ सुधारमा सक्रिय हुनुपर्छ। कर्मचारीहरू आफ्नो कार्यक्षमता अभिवृद्धि गरी संस्थाको सेवामा समर्पित हुनुपर्छ।

जेनजी आन्दोलन आशा र परिवर्तनको शक्तिशाली संकेत पनि हो। यसले राजनीतिक दल र सार्वजनिक संस्थाहरूलाई सुध्रिन चेतावनी र अवसर दिएको छ।

यो आन्दोलनले हरेक नेपालीसँग प्रश्न राखेको छ — हामी पुराना बेथितिमा रमाएर बस्ने कि एकजुट भएर सुसंस्कृत र समृद्ध नेपाल बनाउने?

हामीले जेनजी आन्दोलनलाई सुधारको खबरदारी मान्दै साझा प्रतिबद्धता र स्पष्ट मार्गचित्रमा आधारित भएर कार्यशैली बदल्यौं भने त्रिविले पुनः आफ्नो गौरवशाली पहिचान फर्काउन सक्नेछ, नेपाली उच्च शिक्षाको गौरव विश्वस्तरमा पुर्‍याउन सक्नेछ।

जेनजी आन्दोलनको गहिरो र दीर्घकालीन सन्देश हो– अहिलेसम्मका बेथिति उन्मूलन गरौं र गतिशील बनौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply