पिपरिया सडक विवाद अन्त्य : नगरपालिकाको पहलमा ट्रयाक खोलिएपछि स्थानीय खुसी

हेमा भट्ट, १६ मंसिर
कञ्चनपुर — कृष्णपुर नगरपालिका–९ पिपरियास्थित वर्षौंदेखि थन्किएको र विवादकै कारण अवरुद्ध सडक अन्ततः सञ्चालनमा आउने भएको छ। सुखदेव राना र ओगेन्द्र रानाको घर दक्षिणतर्फ पर्ने सो सडक लामो समयदेखि विवाद, अवरोध र असहमतिले थला परेको थियो। तर नगरपालिका प्रमुख हेमराज ओझा स्वयं फिल्डमा खटिँदा र स्थानीयसँग निरन्तर संवाद गरी सहमति मिलाउँदै, आजदेखि ट्रयाक खोल्ने कार्य सम्भव भएको हो।

नगरप्रमुख ओझा र वडा नं. ९ का वडा अध्यक्ष कैलाश बलायरको संयुक्त पहलमा अड्किएको बाटो खोल्ने प्रक्रिया अघि बढाइयो। नगरपालिकाले आवश्यक स्रोत–साधन परिचालन गर्दै स्थलमै बसेर मापन, अवरोध पहिचान तथा समाधानका लागि छलफल जारी राख्यो।

ओझाका अनुसार, सडकको चौडाइ २ मिटरदेखि ४ मिटरसम्म विभिन्न खण्डमा फरक–फरक देखिनु विवादको मुख्य कारण थियो। यो मापनकै आधारमा घरधनीहरूबीच वर्षौंदेखि असमझदारी झल्किँदै आएको थियो। तर अन्ततः सामुदायिक सहमति भएपछि सडक विकासमा कुनै अवरोध नरहने नगरप्रमुखले स्पष्ट पारे।

अब घर–घरका गुनासो सकियो, बाटो जनताको सुविधा लागि हो—नगरप्रमुख ओझाले पहिलेदेखि घरधनीबीच पटक–पटक गुनासो आउने गरेको तर साझा सहमतिमा पुग्न नसकिएकै कारण समस्या लम्बिएको बताए। तर अहिले सबै पक्ष सहमतिमा आएपछि सडक सहज रूपमा सुचारु हुन लागेकोमा ओझाले स्थानीयलाई धन्यवाद व्यक्त गरे।

नगरपालिकाको योजनाअनुसार यो सडक राजघाट, शान्ति टोल हुँदै बलवान सडकमार्गसँग जडान भएर वडा कार्यालयसम्म पुग्नेछ। ट्रयाक खुलेसँगै आवतजावत, एम्बुलेन्स सञ्चालन, कृषि उत्पाद ढुवानी, विद्यार्थी तथा वृद्धवृद्धाको दैनिक यात्रा सबै सहज हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

ओझाका अनुसार सडक सञ्चालनसँगै सडकछेउका जमिनको मूल्यांकन स्वाभाविक रूपमा बढ्नेछ। बीचमै रहेको जग्गाको कारण बाटो बन्द थियो, अब खुलिसकेको छ। यातायात मात्रै होइन, यस क्षेत्रको समग्र विकासमा नयाँ गति आउनेछ —ओझाले बताए।

नगर प्रमुखले नगर क्षेत्रका अरू अवरुद्ध सडकहरू पनि सामूहिक सहमतिबाट खोल्न आग्रह गरे। जहाँ–जहाँ बाटो खोल्न आवश्यक छ, स्थानीयहरूले नगरपालिकालाई जानकारी गराएपछि हामी तुरुन्तै सहयोग गर्छौँ—उनले भने।

साथै उनलेे थपे कृषि सडकको निर्माण तथा स्तरोन्नति प्रदेश सरकारको ठेक्का प्रक्रियाबाट अघि बढाइएको नगरप्रमुखले जानकारी दिए। कार्य अहिले सुचारु अवस्थामा रहेको र आगामी दिनमा कालोपत्रे तथा अन्य संरचनागत सुधार पनि गर्दै लैजाने नगरपालिकाको योजना छ।

नगरपालिकाको अर्को उपलब्धि: ७ कट्टा अलपत्र जमिन नगरको नाममा वडा नं. ९ मा वर्षौंदेखि अलपत्र रहेको ७ कट्टा जग्गा कानुनी तथा प्रशासनिक प्रक्रियाबाट नगरपालिकाको स्वामित्वमा ल्याउन सफल भएको ओझाले बताए। उनका अनुसार, “यो जग्गा अब सार्वजनिक भवन, सामुदायिक कार्य, खेलमैदान वा अन्य संरचना निर्माणका लागि उपयोग गर्न सकिने जानकारी गराए ।

सडक अवरुद्ध हुँदा दैनिक आवतजावतसमेत कठिन थियो। स्थानीयवासीहरू अहिले सुगम यात्रा, आपतकालीन सेवा, कृषि उत्पादन बजारसम्म पुर्‍याउने सहजता लगायतका फाइदामा आशावादी बनेका छन्। स्थानीयवासीका शब्दमा, सबैले बताए वर्षौंदेखिको समस्या हट्यो, अब विकासको बाटो खुलेको महसुस भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply