हेमा भट्ट पुस ५
कञ्चनपुर । कृष्णपुर नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०८२ अन्तर्गत हालसम्मको पदक तालिका सार्वजनिक गरिएको छ। मिति पौष ५ गते बेलुका ६:३० बजेसम्मको नतिजाअनुसार कञ्चन माध्यमिक विद्यालय, शान्तिपुर पदक तालिकामा अग्रस्थानमा रहँदै आफ्नो प्रभुत्व जमाउन सफल भएको छ।


कृष्णपुर नगरपालिका–७ शान्तिपुरस्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न खेल विधामा नगरभित्रका विद्यालयहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। सार्वजनिक नतिजाअनुसार कञ्चन माविले ६ स्वर्ण, ७ रजत र ३ कास्य पदकसहित कुल १६ पदक जित्दै पहिलो स्थान सुरक्षित गरेको हो।


त्यसैगरी, जे.वि. एकेडेमी, वाणीले उल्लेखनीय प्रदर्शन गर्दै ५ स्वर्ण, ४ रजत र १६ कास्य गरी कुल २५ पदक प्राप्त गरी दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ। पदक सङ्ख्यामा अग्रता भए पनि स्वर्ण पदकको आधारमा जे.वि. एकेडेमी दोस्रो स्थानमा सीमित भएको आयोजकले जनाएको छ।


प्रतियोगितामा नन्द माध्यमिक विद्यालयले पनि सन्तोषजनक प्रदर्शन गर्दै २ स्वर्ण, २ रजत र २ कास्य गरी कुल ६ पदक हासिल गर्दै तेस्रो स्थानमा रहन सफल भएको छ।


नगर स्तरीय छनोट प्रतियोगितामा कुल २८ विद्यालय सहभागी रहेका छन्। हालसम्मको नतिजाअनुसार १४ विद्यालयले पदक खाता खोल्न नसकेको आयोजक समितिले जानकारी दिएको छ। बाँकी खेलहरूमा ती विद्यालयहरूले पनि प्रतिस्पर्धात्मक उपस्थिति जनाउने अपेक्षा गरिएको छ।


आयोजकका अनुसार आगामी दिनहरूमा हुने खेलहरूमा कञ्चन माध्यमिक विद्यालय र जे.वि. एकेडेमीबीच कडा प्रतिस्पर्धा देखिने अनुमान गरिएको छ। खेलाडीहरूको उत्साह, दर्शकको उपस्थिति र प्रतिस्पर्धात्मक खेलले प्रतियोगितालाई थप रोमाञ्चक बनाइरहेको आयोजकको भनाइ छ।


प्रतियोगिताका बाँकी खेलहरू सम्पन्न भएपछि समग्र नतिजा तथा उत्कृष्ट विद्यालय घोषणा गरिने आयोजकले जनाएको छ। राष्ट्रपति रनिङ शिल्डले नगरस्तरमा खेलकुद प्रतिभाको पहिचान, विकास र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सरोकारवालाहरूको भनाइ छ।












































