फागुन २३
कञ्चनपुर — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा फराकिलो अग्रतासहित अघि बढिरहेका छन्। पछिल्लो मतपरिणामले बोहराको पक्षमा मतान्तर झन् बढ्दै गएको देखिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएका मतमध्ये बोहराले १५ हजार ५७९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउद ४ हजार ७०७ मत सहित दोस्रो स्थानमा छन्।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार बचनबहादुर सिंह ले ३ हजार ४६९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्त ले २ हजार ९५३ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार तीर्थराज चटौत ले ८३६ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार हालसम्म ३० हजार २११ मत गणना सम्पन्न भएको छ। तीमध्ये २८ हजार २६० मत सदर भएका छन् भने १ हजार ९५१ मत बदर भएका छन्।
कञ्चनपुर–२ मा १ लाख ९ हजार ५७४ मतदाता रहेकामा ६४ हजार ८८१ मत खसेको थियो, जुन कुल मतदाताको ५९.२१ प्रतिशत हो। उक्त क्षेत्रमा ४ स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
जारी मतगणनाको प्रारम्भिक नतिजाले यहाँ प्रतिस्पर्धा चर्किए पनि रास्वपाका बोहरा फराकिलो मतान्तरसहित बलियो स्थितिमा देखिएका छन्। आगामी गणनासँगै अन्तिम परिणामतर्फ सबैको ध्यान केन्द्रित भएको छ।
