एसपीए कलेजसँग सुदूरपश्चिम: जर्सी सार्वजनिक, च्याम्पियन लक्ष्य

धनगढी — सुदूरपश्चिम प्रदेश क्रिकेटमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएसँगै टोलीले उच्च लक्ष्यसहित आफ्नो तयारीलाई थप मजबुत बनाएको छ।
शनिबार आयोजित कार्यक्रममा टोलीका मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले संयुक्त रूपमा आकर्षक जर्सी सार्वजनिक गरेका हुन्। जर्सी सार्वजनिकसँगै सुदूरपश्चिम टोलीको प्रतिस्पर्धात्मक यात्रा औपचारिक रूपमा अघि बढेको संकेत मिलेको छ।
यस सिजनदेखि एसपीए कलेजले सुदूरपश्चिमको पुरुष तथा महिला दुवै क्रिकेट टोलीलाई तीन वर्षका लागि मुख्य प्रायोजन गर्ने जिम्मेवारी लिएको छ। यो सहकार्यले प्रदेश क्रिकेटको दीर्घकालीन विकासमा महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै सुवाश शाहीले खेलकुदप्रति आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याउँदै सुदूरपश्चिमलाई च्याम्पियन बनाउने स्पष्ट लक्ष्यका साथ अघि बढ्न खेलाडीहरूलाई प्रेरित गरे। उनले खेल क्षेत्रलाई व्यावसायिक र व्यवस्थित बनाउने उद्देश्यले आफूहरूले सुरु गरेको पहललाई अन्य कर्पोरेट क्षेत्रसँग समेत जोड्ने प्रयास भइरहेको जानकारी दिए।
शाहीको योगदान केवल प्रायोजनमा सीमित छैन। खेलाडीहरूको मनोबल बढाउने, आवश्यक सहयोग उपलब्ध गराउने र खेलकुदलाई सम्मानजनक पेशाको रूपमा स्थापित गर्न उनको भूमिका उल्लेखनीय रहँदै आएको छ। सुदूरपश्चिमका धेरै खेलाडीहरूका लागि उनी एक अभिभावकसरह बनेका छन्, जसले हरेक परिस्थितिमा साथ र हौसला प्रदान गर्दै आएका छन्।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले एसपीए कलेजप्रति आभार व्यक्त गर्दै उक्त विश्वासलाई मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत प्रमाणित गर्ने प्रतिबद्धता जनाए। उनले यस्तो सहकार्यले प्रदेश क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।
कप्तान शेर मल्लले अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन रहेको टोलीले यसपटक उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले शीर्ष चारमा स्थान बनाउने प्रारम्भिक लक्ष्य भए पनि टोलीको अन्तिम लक्ष्य च्याम्पियन बन्ने नै रहेको स्पष्ट पारे।
“प्रायोजनले खेलाडीहरूको मानसिक अवस्था निकै मजबुत बनाएको छ,” कप्तान मल्लले भने, “हामी अझ जिम्मेवार भएर मैदानमा उत्रिनेछौं।”
टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी जस्ता प्रतिभाशाली खेलाडीहरू समावेश छन्।
सुदूरपश्चिम क्रिकेटले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति गरिरहेको सन्दर्भमा यसपटकको प्रायोजन, नयाँ जर्सी र स्पष्ट लक्ष्यले टोलीलाई थप सशक्त बनाएको देखिन्छ।
अब सबैको ध्यान काठमाडौंमा हुने प्रतियोगितामा केन्द्रित भएको छ, जहाँ सुदूरपश्चिम टोली केवल सहभागी मात्र होइन, उपाधि दाबेदारको रूपमा मैदान उत्रिने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply