धनगढी – सुदूरपश्चिममै स्वास्थ्य सेवाको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको माया मेट्रो अस्पतालले फेरि एकपटक आफ्नो मानवीय जिम्मेवारीलाई प्राथमिकतामा राख्दै उदाहरणीय काम गरेको छ। आर्थिक अभावमा उपचारबाट वञ्चित हुने अवस्थामा पुगेका एक किशोरलाई निःशुल्क शल्यक्रिया गरी नयाँ जीवन दिनु अस्पतालको सेवाभाव र प्रतिबद्धताको ज्वलन्त प्रमाण बनेको छ।
बैतडीको दशरथचन्द नगरपालिका-निग्लासैनका १६ वर्षीय रुपेश भुल भारतको जम्मु-कश्मीरमा साइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। दुवै हात र दुवै खुट्टा भाँचिएको अवस्थामा बेहोस भेटिएका उनलाई तत्काल त्यहाँको सरकारी अस्पतालमा भर्ना गरिए पनि एक हप्तासम्म उपचारमा ढिलाइ हुँदा उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको थियो। संक्रमण फैलिँदै गइरहेको र अवस्था नाजुक बन्दै जाँदा परिवार गम्भीर चिन्तामा परेको थियो।
उपचार सम्भव नदेखिएपछि परिवारले जोखिम मोलेर नेपाल फर्काउने निर्णय गर्यो। अन्ततः रुपेशलाई धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइयो। चैत ८ गते अस्पताल पुग्दा उनको अवस्था निकै संवेदनशील थियो-शरीरका मुख्य अंगहरूमा गम्भीर चोट, संक्रमणको जोखिम, र आर्थिक अभावले उपचार चुनौतीपूर्ण बनेको थियो।
यही अवस्थामा माया मेट्रो अस्पतालको भूमिका निर्णायक बन्यो। अस्पताल प्रशासन र विशेषज्ञ चिकित्सकहरूको टोलीबीच गम्भीर छलफलपछि रुपेशको उपचार निःशुल्क गर्ने निर्णय गरियो। यसले अस्पताल केवल सेवा प्रदायक मात्र नभई समाजप्रति उत्तरदायी संस्थाका रूपमा उभिएको सन्देश दिएको छ।
हार्डजोर्नी विशेषज्ञ डा. विकास पाण्डे, डा. रितेश पोखरेल लगायतको अनुभवी टोलीले रुपेशको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्यो। निरन्तर निगरानी, औषधोपचार र पुनर्स्थापनासहित करिब तीन हप्ताको उपचारपछि रुपेश अहिले स्वास्थ्य लाभ गरेर घर फर्किएका छन्।
अस्पतालका पिआर म्यानेजर जगत महताका अनुसार, “बिरामीको अवस्था अत्यन्तै गम्भीर थियो। आर्थिक पक्ष कमजोर भएकाले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने निर्णय गरेको हो।”
रुपेश र उनका परिवारका लागि यो सहयोग केवल उपचार मात्र होइन, जीवनदान जस्तै सावित भएको छ। “हामीले त आशा नै छोडिसकेका थियौं, तर माया मेट्रोले हाम्रो छोरालाई बचाइदियो,” रुपेशका बुबाले भावुक हुँदै भने। उनले अस्पतालप्रति आभार व्यक्त गर्दै आफ्नै प्रदेशमा यस्तो सेवा पाउनु गर्वको विषय भएको बताए।
स्वास्थ्य सेवा क्षेत्रमा बढ्दो व्यावसायिक प्रतिस्पर्धाबीच माया मेट्रो अस्पतालले देखाएको मानवता, संवेदनशीलता र सामाजिक उत्तरदायित्वले यस क्षेत्रका अन्य संस्थाहरूलाई पनि प्रेरणा दिने देखिन्छ।
यो घटनाले एउटा स्पष्ट सन्देश दिन्छ-सही समयमा गरिएको निर्णय, दक्ष चिकित्सकको मेहनत र सेवाभावले असम्भव जस्तो देखिने अवस्थालाई पनि सम्भव बनाउन सक्छ। र, यही कारणले आज माया मेट्रो अस्पताल केवल अस्पताल मात्र नभई धेरैका लागि आशा र विश्वासको केन्द्र बन्दै गएको छ।

