हेमा भट्ट, बैशाख ५
कञ्चनपुर – कृष्णपुर नगरपालिका-९ स्थित वनदेवी सामुदायिक वन भित्र अवस्थित रमणीय टुप्पा ताल यतिबेला साइकल राइडर तथा आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। विशेषगरी बिहानको समयमा समूहगत रूपमा आउने साइकल राइडरहरू हरियाली वन, शान्त वातावरण र तालको प्राकृतिक सौन्दर्यमा रमाउँदै दिनको सुरुवात गर्ने गरेका छन्।
कैलाली र कञ्चनपुरका विभिन्न पर्यटकीय गन्तव्यहरूमा लामो समयदेखि यात्रा गर्दै आएको साइकल राइडर समूह पछिल्लो समय नियमित रूपमा टुप्पा ताल पुग्न थालेको छ। उनीहरूका अनुसार यो स्थानले प्राकृतिक वातावरणसँगै स्वास्थ्य, मनोरञ्जन र पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोडेको छ।
एक साइकल राइडरले टुप्पा तालको सौन्दर्यको खुलेर प्रशंसा गर्दै भने, हामी लामो समयदेखि विभिन्न गन्तव्यमा पुगिरहेका छौं, तर टुप्पा ताल साँच्चिकै फरक र आकर्षक छ। यहाँको शान्त वातावरण, हरियाली र विशेषगरी भ्यू टावरबाट देखिने दृश्य अत्यन्तै मनमोहक छ।उनले धनगढीबाट अत्तरिया हुँदै राजघाट भएर टुप्पा तालसम्मको साइकल यात्रा आफैंमा रोमाञ्चक अनुभव भएको बताए।
त्यस्तै, अर्का एक राइडरले टुप्पा तालको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै भने, यति राम्रो सम्भावना भएको ठाउँलाई अझ व्यवस्थित बनाउन सरसफाइमा विशेष ध्यान दिनुपर्छ। डस्टबिनको उचित व्यवस्था गरिए पर्यटन अझ बढ्न सक्छ।

सुनिल बमले पनि सरसफाइसम्बन्धी व्यवहारिक समस्या उठाउँदै स्थानीय तहको ध्यानाकर्षण गराए। उनले भने, हामी खानेकुरा लिएर आउँछौं, तर डस्टबिनको अभावले फोहोर व्यवस्थापनमा समस्या हुन्छ। बाध्य भएर पोलिथिनमा राखेर व्यवस्थापन गर्नुपर्छ, जुन दीगो समाधान होइन।उनले स्थानीय सरकारले तत्काल डस्टबिनको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
स्थानीय बासिन्दाहरूका अनुसार पछिल्लो समय टुप्पा तालमा आउने आन्तरिक पर्यटक र साइकल राइडरहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तर बढ्दो भीडसँगै वातावरणीय सन्तुलन कायम राख्न उचित योजना र व्यवस्थापन आवश्यक देखिएको छ।
पर्यटन विज्ञहरूका अनुसार प्राकृतिक स्रोतसाधनको संरक्षण गर्दै पूर्वाधार विकास गर्न सके टुप्पा ताल सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ। विशेषगरी साइकल पर्यटन, इको-टुरिज्म र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न यस क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
टुप्पा तालको बढ्दो लोकप्रियतासँगै यसको दीगो संरक्षण, सरसफाइ व्यवस्थापन र आवश्यक पूर्वाधार विकासमा स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य देखिएको छ। साइकल राइडर तथा पर्यटकहरूको सकारात्मक प्रतिक्रिया र सुझावलाई समयमै सम्बोधन गर्न सकेमा यो क्षेत्र सुदूरपश्चिम प्रदेशकै एक नमुना पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना प्रबल रहेको छ।
वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले पनि तालको व्यवस्थापन सुधार गर्ने योजना अघि बढाइएको जानकारी दिए। उनले भने, टुप्पा तालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सरसफाइ, पूर्वाधार विकास र पर्यटकमैत्री वातावरण निर्माणका लागि हामीले योजनाबद्ध रूपमा काम अघि बढाएका छौं। छिट्टै डस्टबिन व्यवस्थापन, पदमार्ग सुधार, विश्रामस्थल निर्माण तथा सूचना बोर्ड जस्ता आवश्यक संरचनाहरू थप गरिनेछ। स्थानीय समुदायको सक्रिय सहभागिता र सरोकारवाला निकायसँगको सहकार्यमार्फत टुप्पा ताललाई अझ सुरक्षित, सफा र आकर्षक बनाउने हाम्रो लक्ष्य छ। यसलाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हामी प्रतिबद्ध छौं।
