वर्षाले खेल रोकिएपछि ओभर घटाएर नेपालले पायो २२१ रनको लक्ष्य

काठमाडौँ, वैशाख २९ गते । आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबार नेपाल र स्कटल्यान्ड बिचको खेलका क्रममा वर्षा भएपछि ओभर छोट्याइएको छ । ५० ओभर खेल्दै स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा दिएको २४४ रनको चुनौती छोट्याएर २२१ रनमा झारिएको हो । खेल अब ३९ ओभरको हुने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । पहिलो इनिङपछिको ब्रेकमा पानी परेपछि खेलको ओभर र लक्ष्य घटाइएको हो ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाउनुभयो । ६२ रनको सामना गर्दा उहाँले १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाउनुभएको हो । त्यसैगरी अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाउनुभयो । पाँचौँ क्रममा ब्याटिङ गर्नुभएका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाउनुभयो ।

२० ओभरसम्म विकेटविहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाउनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पर्नुभएको हो ।

त्यसैगरी करण केसीले आठ ओभर बलिङ गर्दा ५१ रन खर्चिएर दुई विकेट हात पर्नुभयो भने आठ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर नन्दन यादवले दुई विकेट लिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply