विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडौँ, वैशाख २७ गते । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार राति बाँया हाते ब्याट्सम्यान इशान पाण्डेलाई समेट्दै रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

क्यानले यसअघि नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सिरिजमा रहनुभएका बसिर अहमदको स्थानमा इशानलाई समेटेको हो । टोलीमा अन्य खेलाडीले भने निरन्तरता पाएका छन् ।

नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरजमध्ये चार खेलमा तीन जित निकालेको थियो । अब नेपालले वैशाख २९ गते स्कटल्यान्ड, जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।

आठ देश सहभागी लिग–२ मा २४ खेल सकेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २८ खेलबाट ३४ अङ्क छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, इशान पाण्डे, गुल्सन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र भीम सार्की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply