काठमाडौँ, वैशाख १८ गते । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको विकेटको क्षतिमा दुई सय ८९ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित सय रन बनाउनुभयो । उहाँले ९४ बलमा १३ चौका र एक छक्का हान्नुभयो ।
यस्तै ओपनर विनोद भण्डारीले ५६ रन, गुलशन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमाल र आरिफ शेखले समान ११/११ रन बनाउनुभयो ।
अर्जुनले नेपाली राष्ट्रिय सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । उहाँले घरेलु क्रिकेटमा गण्डकी प्रदेशबाट खेल्दै आउनुभएको छ ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले दुई तथा हैदर अली र खुजैमा तनवीरले एक एक विकेट लिनुभयो ।
