वैशाख १५
आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र युएईविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले बुधबार आफ्नो दोस्रो खेल खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। सिरिजको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो।
ओमान र नेपालबीच एकदिवसीय खेलमा नवौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका आठमध्ये नेपालले तीन खेलमा मात्र जित निकाल्न सफल भएको छ। ओमान भने पाँच खेलमा विजयी भएको छ।
सबैभन्दा पछिल्लो खेल भने वर्षाले रद्द भएको थियो। सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको सिरिजको ओमानले नेपाललाई १ विकेटले हराएको थियो।
त्यसअघि नेपालले ओमानलाई २०२३ को एसिसी प्रिमियर कप र २०२२ को लिग-२ को खेलमा हराएको थियो।
यसपटकको लिग-२ मा नेपालको प्रदर्शन राम्रो छैन। सहभागी आठ टोलीमध्ये नेपाल २१ खेलबाट १४ अंक जोड्दै पुछारबाट दोस्रो अथवा सातौं स्थानमा छ।
ओमान भने राम्रो स्थितिमा छ। ओमान २५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा छ। घरेलु मैदानमा र पछिल्लो समय ओमानको टोलीमा आएको परिवर्तनका कारण नेपाल फाइदा उठाउने योजना छ।
त्यसो त नेपालको ए क्रिकेट टोलीले गत साता मुलपानी मैदानमा दुई खेलको सिरिज खेलेका थिए। जसमा पहिलो खेलमा ओमान विजयी हुँदा दोस्रो खेलमा नेपाल ए टोलीले जित निकालेको थियो।
