बाघको आक्रमणबीच पनि जोगियो परिवारको ज्यान, उद्धार र उपचारमा प्रहरी–स्वास्थ्यकर्मीको सक्रियता

हेमा भट्ट, जेठ १३

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्ट क्षेत्रमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास दैजी–बेलडाँडी सडकखण्डमा मोटरसाइकलमा सवार एकै परिवारमाथि बाघले अचानक आक्रमण गर्दा दुर्घटना भएको छ। घटनामा चार जना घाइते भए पनि स्थानीयवासी, प्रहरी र स्वास्थ्यकर्मीको तीव्र सक्रियताले सबैको ज्यान जोगिएको छ।

प्रहरीका अनुसार जंगल क्षेत्र पार गर्ने क्रममा बाघ अचानक सडकमा निस्किएर मोटरसाइकलमा झम्टिँदा चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। दुर्घटनालगत्तै स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय र उद्धार टोली घटनास्थल पुगेका थिए।

घाइतेहरूलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि उक्त सडकखण्ड भएर यात्रा गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवतजावत बढ्दै गएकाले रातिको समयमा सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

स्थानीयवासीले समयमै गरिएको उद्धार, प्रहरीको समन्वय र स्वास्थ्यकर्मीको तत्परताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply