हेमा भट्ट, जेठ १५, कृष्णपुर, कञ्चनपुर – लागू पदार्थ दुर्व्यसन, बालविवाह र बालश्रमविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित कृष्णपुर नगरपालिका-१ मा वृहत् जनचेतनामूलक र्याली तथा कार्यक्रम सम्पन्न गरिएको छ।
बैजनाथ बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रमलाई विभिन्न स्थानीय निकाय तथा सामाजिक संघ-संस्थाहरूले सहयोग गरेका थिए। समुदायमा रहेका सामाजिक कुरीति विरुद्ध चेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई दिनसम्म विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।


कार्यक्रमको पहिलो दिन बनहरा भेटघाट शिविर क्षेत्रमा स्थानीय बालबालिका, अभिभावक, शिक्षक, युवा तथा सामाजिक अगुवाहरूको सक्रिय सहभागितामा सचेतनामूलक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा लागू पदार्थ सेवनका कारण बालबालिकामा पर्ने शारीरिक, मानसिक तथा सामाजिक असरबारे विस्तृत जानकारी दिइएको थियो।
त्यसैगरी बालविवाहले बालअधिकार हनन गर्नुका साथै शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो। बालश्रम न्यूनीकरणका लागि समुदायस्तरमै निगरानी र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।


कार्यक्रमको दोस्रो दिन दोमिल्ला क्षेत्रबाट सुरु भएको जनचेतना र्याली पहरिया हुँदै निगाली र वण्ड मोतीपुरसम्म पुगेको थियो। र्यालीमा सहभागीहरूले “लागू पदार्थ मुक्त समाज निर्माण गरौं”, “बालविवाह अन्त्य गरौं”, “बालश्रम होइन शिक्षा रोजौं” जस्ता नारा लगाउँदै समुदायमा सशक्त सन्देश प्रवाह गरेका थिए।
स्थानीय युवाहरू, बाल क्लबका सदस्य तथा सामाजिक अभियन्ताहरूले ब्यानर, प्लेकार्ड र नारासहितको र्यालीमार्फत समुदायमा सचेतना फैलाएका थिए। स्थानीयवासीहरूले यस्ता कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै निरन्तर सञ्चालन गर्नुपर्ने बताएका छन्।
बैजनाथ बाल क्लबका प्रतिनिधिहरूका अनुसार बालबालिकाको हकअधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणका लागि यस्ता अभियानलाई अझ व्यापक बनाइने योजना छ। समुदाय, विद्यालय र अभिभावकबीच सहकार्य मजबुत बनाउँदै सामाजिक विकृति न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।


कार्यक्रमले स्थानीय क्षेत्रमा बालअधिकार, शिक्षा र सामाजिक सुरक्षाबारे महत्वपूर्ण सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।







