सडक सुरक्षा र स्वच्छ वातावरणका लागि ट्राफिकको सक्रियता: ३२ सवारी साधन कारवाहीमा

खेमराज भट्ट, जेठ १९
काठमाडौं, जेठ १९ – काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण, सवारी साधनको प्राविधिक अवस्था सुधार तथा वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विशेष निगरानी तथा चेकजाँच अभियानलाई थप प्रभावकारी बनाएको छ। मंगलबार सञ्चालन गरिएका दुई छुट्टाछुट्टै अभियानमा यान्त्रिक रूपमा कमजोर तथा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने ३२ सवारी साधन कारवाहीमा परेका छन्।

काठमाडौंको TU गेट नजिक गरिएको विशेष यान्त्रिक परीक्षण अभियानअन्तर्गत ६० वटा सवारी साधन जाँच गर्दा १९ वटा सवारी साधनमा हेण्डब्रेक, ब्रेक प्रणाली, लाइट, टायर तथा अन्य महत्वपूर्ण उपकरणहरू दुरुस्त नभएको भेटिएको थियो। ट्राफिक प्रहरीले यस्ता कमजोरीले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले सम्बन्धित चालकलाई आवश्यक कानुनी कारवाही गर्नुका साथै तत्काल मर्मतसम्भार गर्न निर्देशन दिएको जनाएको छ।

त्यसैगरी थानकोटस्थित त्रिभुवन पार्क नजिक वातावरण व्यवस्थापन विभाग, चन्द्रागिरि नगरपालिका र ट्राफिक प्रहरीको संयुक्त टोलीले सञ्चालन गरेको प्रदूषण परीक्षण अभियानमा १३ वटा सवारी साधनले तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरिरहेको पाइएको थियो। ती सवारी साधनलाई कारवाही गर्दै प्रदूषण नियन्त्रणका लागि आवश्यक सुधार गर्न सचेत गराइएको छ।

ट्राफिक प्रहरीका अनुसार यान्त्रिक रूपमा कमजोर सवारी साधनले दुर्घटनाको जोखिम बढाउने मात्र होइन, अत्यधिक धुवाँ उत्सर्जन गर्ने सवारीले वातावरण प्रदूषण र जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने गर्दछ। विशेषगरी काठमाडौँ उपत्यकाजस्तो घना जनसंख्या भएको क्षेत्रमा वायु प्रदूषण नियन्त्रणका लागि सवारी साधनको नियमित परीक्षण र समयमै मर्मतसम्भार अपरिहार्य रहेको बताइएको छ।

प्रहरीले आगामी दिनमा पनि यान्त्रिक परीक्षण, प्रदूषण जाँच, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि विशेष निगरानी र कारवाही अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै सबै सवारीधनी, चालक र यातायात व्यवसायीलाई कानुनी मापदण्डको पालना गर्दै सुरक्षित र वातावरणमैत्री यातायात सञ्चालनमा सहयोग गर्न आग्रह गरिएको छ।

ट्राफिक प्रहरीको यस्तो सक्रियता केवल कारवाहीमा सीमित नभई सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि, जिम्मेवार यातायात संस्कारको विकास र स्वच्छ वातावरण निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। नियमित अनुगमन र सचेतनासँगै नागरिकको जिम्मेवार सहभागिता बढ्न सके दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा थप सकारात्मक परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply