एआई लगानीले विश्व व्यापारलाई गति दिँदै

जेनेभा, जेठ २३ — विश्व व्यापार संगठन (WTO) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानी र माग बढेकाले वैश्विक वस्तु व्यापारमा सकारात्मक प्रभाव परेको छ। मध्यपूर्वमा जारी द्वन्द्वले केही चुनौती सिर्जना गरे पनि सन् २०२६ को पहिलो छ महिनामा विश्व व्यापार मजबुत देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार नवीन वस्तु व्यापार सूचकाङ्क १०१.७ मा पुगेको छ, जुन जनवरीको १०२.३ भन्दा केही कम भए पनि १०० भन्दा माथि रहेकाले व्यापार औसतभन्दा राम्रो अवस्थामा रहेको संकेत गर्दछ। १०० भन्दा माथिको सूचकाङ्कले व्यापारमा सकारात्मक वृद्धि देखाउँछ भने १०० भन्दा तल घट्दा कमजोरी जनाउँछ।

एआईसम्बन्धी लगानीका लागि आवश्यक विद्युतीय पुर्जाको माग तीव्र रूपमा बढेको छ, जसले क्षेत्रीय द्वन्द्वको असर केही हदसम्म कम गरेको बताइएको छ। विद्युतीय पुर्जा सूचक १०५.५ मा पुगेको छ, जुन औसतभन्दा उल्लेखनीय रूपमा माथि हो। अन्य सूचकहरू भने १०० वरिपरि स्थिर देखिएका छन्।

निर्यात आदेश सूचक १००.५ मा पुगेको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेत देखाएको प्रतिवेदनले जनाएको छ। गत चैतमा सार्वजनिक पूर्वानुमानअनुसार सन् २०२६ मा विश्व वस्तु व्यापार १.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा सुस्त हो।

तर ऊर्जा मूल्य निरन्तर बढेमा व्यापार वृद्धि १.४ प्रतिशतमा सीमित हुन सक्ने र एआई लगानी बढ्दै गएमा वृद्धि दरमा थप ०.५ प्रतिशत बिन्दुको योगदान हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ। रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply