हेमा भट्ट, जेठ २३
कञ्चनपुर – “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ७ मा वडा स्तरीय फुटबल प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ। द यूनिटी क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रति उत्साह जगाउनुका साथै अनुशासित, स्वस्थ र सकारात्मक समाज निर्माणको सन्देश दिएको छ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा वडा क्षेत्रका ६ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु २० हजार तथा उपविजेता टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्।


कार्यक्रमका सभापति तथा द यूनिटी क्लबका अध्यक्ष खगेन्द्र भट्ट ले खेलकुदले युवालाई सही मार्गमा डोर्याउने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिइने बताए। उनले आगामी दिनमा खेलप्रेमी युवासँग समन्वय गरेर अझ प्रभावकारी र व्यापक खेलकुद कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा कृष्णपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष घुम्मन राना ले खेलकुद युवाको क्षमता, अनुशासन र नेतृत्व विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै वडा कार्यालयले खेल क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलले समाजमा एकता, भाइचारा र सकारात्मक सोचको विकास गर्ने भएकाले यस्ता प्रतियोगिता आवश्यक रहेको बताए।


विशिष्ट अतिथिहरू सुरेश नेपाली (युनिक सुट हाउसका सञ्चालक), राम बी.सी., दीपक बिष्ट र अनिस भट्ट ले खेलकुद गतिविधिले युवालाई कुलतबाट टाढा राख्दै सिर्जनात्मक र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने धारणा राखे।
त्यस्तै अतिथिहरू विक्की ऐर, मुखलाल राना, आकाश कार्की, कुश ताम्राकार लगायत समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले खेलकुदको विकाससँगै युवाको भविष्य निर्माणमा सबै पक्षको साझा सहकार्य आवश्यक रहेको बताएका थिए।
कृष्णपुर नगरपालिका वडा नं. ७ को प्रवर्द्धन तथा द यूनिटी क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई उजागर गर्नुका साथै वडा क्षेत्रमा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगिताको उद्घाटनसँगै स्थानीय खेलप्रेमी र दर्शकहरूको उत्साहजनक सहभागिताले खेलमय वातावरण सिर्जना गरेको छ।


