अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको भावुक बिदाइ

ब्युनस आयर्स, असोज २१ गते । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिनुभएको छ। ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै ३९ वर्षीय मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा टुङ्ग्याउनुभएको हो।

आफ्नो कीर्तिमानी २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै मेस्सीले बिदाइलाई विशेष बनाउनुभयो। उहाँले निकोलस ओटामेन्डीको गोलका लागि सहयोग गर्नुभयो भने निको पाजले अर्को गोल गर्नुभयो। मेस्सीले ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो।

खेलभन्दा मेस्सीको बिदाइ मुख्य आकर्षण बनेको थियो। ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको कार्यक्रममा समर्थकको माया र सम्मान ग्रहण गर्दै उहाँले दुई दशकभन्दा बढी अर्जेन्टिनाको जर्सी लगाएर खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गौरव भएको बताउनुभयो। राष्ट्रिय टोलीका लागि खेल्नु आफ्नो जीवनको सबैभन्दा सुन्दर अनुभव भएको उहाँको भनाइ थियो।

स्टेडियम पुग्ने क्रममा समर्थकको ठूलो भीडले मेस्सी र टोलीको बसलाई स्वागत गरेको थियो। भावुक बनेका मेस्सीले आँसु झार्नुभएको थियो। उहाँ तीन सन्तानसँगै मैदान प्रवेश गर्नुभयो भने पत्नी एन्टोनेला रोकुजो र आमा सेलिया कुसिट्टिनीले भिआइपी कक्षबाट स्वागत गर्नुभएको थियो।

खेलअघि मैदानमा मेस्सीको १० नम्बरको जर्सीमा ‘ग्रेसियस’ अर्थात् ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो। खेलको १०औँ मिनेटमा उहाँको जर्सी नम्बरको सम्मानमा खेल रोकिँदा समर्थकले एक मिनेट ताली बजाएका थिए। अन्तिम सिठ्ठीपछि ड्रोनमार्फत आकाशमा मेस्सीको तस्बिर देखाएर उहाँलाई धन्यवाद दिइएको थियो।

बिदाइअघि ब्युनस आयर्स विश्वविद्यालयले मेस्सीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो। एएफए मुख्यालयबाहिर समर्थकले ‘मेरो जीवनको आनन्द’ लेखिएको विशाल अर्जेन्टिनी झण्डा प्रदर्शन गरेका थिए। बार्सिलोनाका पूर्वसहकर्मी नेयमारले पनि सामाजिक सञ्जालमार्फत मेस्सीलाई फुटबलमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए।

मेस्सीको अन्तर्राष्ट्रिय यात्रा अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताउँदै ३६ वर्ष लामो उपाधि खडेरी अन्त्य गरेपछि अझ ऐतिहासिक बनेको थियो। उहाँकै नेतृत्वमा अर्जेन्टिनाले २०२१ र २०२४ मा कोपा अमेरिका उपाधि जितेको थियो। अर्जेन्टिना २०१४ र २०२६ को विश्वकपमा उपविजेता बनेको थियो।

मेस्सी सन् २०२८ सम्म इन्टर मियामीसँग अनुबन्धित हुनुहुन्छ। दुई महिनाअघि पिता जोर्जको निधनपछि भने उहाँले अपेक्षाभन्दा चाँडै फुटबलबाट बिदा लिन सक्ने सङ्केत गर्नुभएको थियो। समर्थक सिसिलिया एड्रियानोले मेस्सीले राष्ट्रिय टोलीका लागि आफ्नो तर्फबाट सबै कुरा दिएको भन्दै अब उहाँले आफ्नो जीवनको आनन्द लिँदै आराम गर्न पाउनुपर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *