दसैँमा नयाँ नोट लिन झन्झट छैन, एटिएमबाटै १०० का नोट

असोज २१ । दसैँलगायत चाडपर्वमा नयाँ तथा सफा नोट लिन सेवाग्राहीले लामो लाइन बस्नुपर्ने झन्झट कम हुने भएको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैङ्कको निर्देशनपछि केही बैङ्क तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएममार्फत १०० रुपैयाँका नोट वितरण सुरु गरेका छन्। यस व्यवस्थाले चाडपर्वका बेला साना दरका नोट आवश्यक पर्ने सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार राष्ट्र बैङ्कको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैङ्कबाट असोज १ गतेदेखि सुकिला तथा सफा नोट वितरण भइरहेको छ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा दसैँ लक्षित नयाँ नोट वितरणबारे अनावश्यक प्रचार नगरी सहज रूपमा सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्वलाई लक्षित गरी ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने परिपाटीलाई क्रमशः घटाउँदै लैजाने नीति लिएको छ। प्रयोगमा रहेका सफा तथा सुकिला नोटलाई पुनः चलनचल्तीमा ल्याउनेतर्फ समेत जोड दिइएको छ।

प्रवक्ता पौडेलका अनुसार गत भदौ ३१ गतेसम्म नेपालमा ७ खर्ब ९४ अर्ब रुपैयाँ करेन्सी इन सर्कुलेसनमा रहेको छ। दसैँका बेला उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान राष्ट्र बैङ्कको छ।

राष्ट्र बैङ्कले नोटको सुरक्षित प्रयोग, संरक्षण र पुनः प्रयोगलाई प्राथमिकता दिँदै चाडपर्वका समयमा आवश्यकताअनुसार मात्रै नगद प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *