हेमा भट्ट
कञ्चनपुर, असोज २१-जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेदकोट नगरपालिका-७ बाट ठूलो परिमाणमा अवैध पटाका बरामद गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक विक्रमबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका-७ स्थित एक स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका अवैध पटाका बरामद गरेको हो।
बरामद गरिएका पटाकाको अनुमानित मूल्य रु. १६ लाख ८७ हजार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले अवैध रूपमा भित्र्याइएका तथा भण्डारण गरिएका विस्फोटक प्रकृतिका पटाकामाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ। विशेषगरी चाडपर्व नजिकिँदै जाँदा पटाका तथा अन्य विस्फोटक पदार्थको अवैध कारोबार बढ्न सक्ने भएकाले प्रहरीले सीमा क्षेत्र तथा बजार क्षेत्रमा निगरानी बढाएको छ।
बरामद पटाका आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।
प्रहरीले अवैध पटाका बिक्री-वितरण तथा भण्डारणमा संलग्न व्यक्तिमाथि अनुसन्धान अघि बढाउँदै कानुनअनुसार कारबाही गरिने जनाएको छ।
