कञ्चनपुरमा १३ लाख ८३ हजारको अवैध सामान बरामद

हेमा भट्ट
कञ्चनपुरमा भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका १३ लाख ८३ हजार ६ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २० गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरियाको संयुक्त टोली तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा अवैध सामान बरामद गरेको हो।

संयुक्त प्रहरी टोलीले जिन्स तथा लेडिज जुत्तासहित से १ च ३१९ नम्बरको महेन्द्रा पिकअप जिप बरामद गरेको छ। उक्त सामान तथा सवारीसाधनको मूल्य १३ लाख ३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले विभिन्न किसिमका आयुर्वेदिक औषधि बरामद गरेको छ। बरामद औषधिको मूल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद भएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले अवैध रूपमा भन्सार छली ल्याइएका सामानमाथि नियन्त्रण अभियानलाई निरन्तरता दिइने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *