असोज २० गते । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार सो दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजे शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ। टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ। यद्यपि दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि उक्त समय तोकिएको हो।
यस वर्षको नवरात्र असोज २५ गते आइतबार घटस्थापनासँगै सुरु हुनेछ। घटस्थापनाको उत्तम साइत बिहान ११ः४७ बजे रहेको छ। सो दिन चित्रा नक्षत्र र वैधृति योग पर्ने भएकाले घटस्थापनाअघि त्यसको शान्ति गर्नुपर्ने समितिले जनाएको छ।
असोज २६ गते झण्डा फेर्ने साइत बिहान १०ः०७ बजे रहेको छ। असोज २९ गते पचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते फूलपाती पर्व परेको छ। सोही दिन बिहान ७ः३७ बजे तुलजा भवानी यात्रा र १०ः३९ बजे स्थिरासनमा राख्ने साइत रहेको छ।
कात्तिक १ गते महाअष्टमी तथा राति कालरात्रि पर्व मनाइनेछ। कात्तिक २ गते अष्टमी तिथि र कात्तिक ३ गते महानवमी परेको छ। कात्तिक ४ गते विजयादशमीका दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको र ११ः५२ बजे स्थिरासनमा राख्ने साइत रहेको समितिले जनाएको छ। सोही दिन खड्गयात्रा पनि हुनेछ।
कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति, कोजाग्रतव्रत तथा पूर्णिमा व्रत परेको छ। सो दिन बेलुकी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुनेछ। कात्तिक ९ गते कोजाग्रत पूर्णिमा परेको छ।
नेपालको राष्ट्रिय पर्वका रूपमा मनाइने दसैँमा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्न टाढा रहेका नेपाली घर फर्कने गर्छन्। पर्वका अवसरमा शक्तिपीठमा भक्तजनको भीड लाग्ने, बालबालिकाले पिङ खेल्ने तथा चङ्गा उडाउने र बजारमा चहलपहल बढ्ने गर्दछ।
